मल्लकालीन वास्तुकलाका सय वर्ष पुराना घर

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका १०० वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन् ।

विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीहरुको बसोबास रहेको गौश्वारामा प्रजातन्त्र पुनःस्थापनापछि बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुडालसमेत रहेका ती घरहरुमा आँखीभm्याल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्ववम मल्लको स्वामित्वमा रहेका करीब १०० वर्ष पुराना घरहरु भएका स्थानीयवासी बुद्धिजीवी एवं शिक्षक रामबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ ।

यी घरहरुको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ । तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ । यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणाहरुसँग यहाँका ठकुरीहरुको वैवाहिक सम्बन्ध गाँसिएको थियो । त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरुभन्दा मल्ल वंशीय ठकुरीहरुका घरहरु फरक शैलीमा निर्माण भएका गुरुङले बताउनुभयो ।

त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरवम मल्लले यी घरहरुसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिनुभयो । “कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखरालगायतका शहरहरुमा गइसके तर म भने पुर्खाको बिरासतलाई संरक्षण गरेर बसेको छु”, मल्लले भन्नुभयो, “घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा हाम्रा पुर्खाको सुगन्ध मिसिएको छ ।’’

ढुङ्गाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन् । गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन् । यी ऐतिहासिक महत्व राख्ने घरहरुको संरक्षण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?