काठमाडौं । तिहारमा विशेष गरेर मखमली, सयपत्री र गोदावरी फूलको प्रयोग गरिन्छ । अरु दिन प्रयोग गर्न हुँदैन भनिने मखमली फूल तिहारमा मात्रै प्रयोग गरिन्छ । आखिर चाडवाड र फूलको सम्बन्ध के छ ? तिहारमा यी तीन फूलहरु मात्र प्रयोग गरिनुको कारण के हो ?
यसबारेमा हामीले संस्कृतिविद तथा नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठका धर्मसंस्कृति विभागका विभागीय प्रमुख प्रा.डा देवमणी भट्टराईसँग कुराकानी गरेका थियौं । उहाँका अनुसार यी तीनै फूल यस मौसममा फूल्ने भएकाले पनि तिहारको वेला यिनीहरुको प्रयोग गरिन्छ । यस प्राकृतिक सम्बन्धका साथै फूलहरुको धार्मिक र सांस्कृतिक अर्थ पनि छ । यी तीनै फूलले हाम्रो सृष्टिलाई प्रतिबिम्बित गर्छन् । साथसाथै, चेली र माइतीबीचको सम्बन्धलाई पनि संकेत गर्छन् ।
सयपत्री फूलले विस्तारता, व्यापकतालाई चित्रण गर्दछ । सयपत्रीको एउटै थुङ्गामा सयौं पत्र हुन्छन् र हरेक पत्र एउटा छुट्टै थुङ्गासरह हुन्छ त्यसैले भगवान पुज्दा फूल च्यात्नु हुँदैन भनेपनि सयपत्रीलाई च्यात्दा त्यसको महत्त्व घट्दैन । फेरि सानो जमिनमा पनि फैलिने भएकाले सयपत्रीलाई उत्पादनशीलता र व्यापकतासँग जोडिन्छ । चेली र माइतीबीच यस्तै व्यापक सम्बन्ध होस् भन्दै सयपत्रीको माला लगाइदिने हो । र, सृष्टिको व्यापकताप्रति सराहना व्यक्त गर्दै काग, कुकुर, लक्ष्मी लगायतलाई सयपत्रीले पूजा गरिन्छ ।
त्यस्तै, मखमली फूलले स्थायीत्त्वलाई संकेत गर्दछ । मखमली फूल कहिल्यै ओइल्याउँदैन । त्यसैले माइती र चेलीबीचको सम्बन्ध पनि त्यस्तै सदावहार होस् भन्दै भाइटिकामा यस फूलको प्रयोग गरिन्छ । र, हाम्रो सृष्टि, प्रकृतिको स्थायित्त्वलाई सम्मान गर्दै तिहारमा काग, कुकुर, लक्ष्मी लगायत अन्यलाई मखमली फूलले पूजा गरिन्छ ।
अन्त्यमा, गोदावरी फूलले संवेदनशीलतालाई प्रतिबिम्बित गर्दछ । हाम्रो बोलीव्यवहारले कसैलाई चोट नपु¥याओस्, हामीले जानीजानी कसैलाई हानी गर्नुहुँदैन र संसारका हरेक वस्तु नाशवान हुन् भन्ने कुरा वोध गराउँछ गोदावरीले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया