काठमाडौं । नेपाली समाजमा फगत रमाइलोका लागि मात्र नभएर धर्मसंस्कृतिको जगेर्ना गर्नलाई पनि चाडपर्व मनाइन्छ । यसरी चाडपर्वलाई धर्मसंस्कृतिसँग जोड्ने नेपाली समाजमा तिहारको पनि छुट्टै सांस्कृतिक महत्त्व छ । यद्यपी हाम्रा अधिकांश चाडपर्वहरु धेरथोर प्रकृतिसँग पनि सम्बन्धित छन् । तिहार पनि तिनै चाडमध्ये एक हो । तिहारका हरेक पक्ष काहीँ न काहीँ गएर प्रकृतिसँग ठोक्किने संस्कृतिविद्हरुको मान्यता छ ।
कागतिहारदेखि शुरु हुने यस पर्वलाई भाइटिकासम्म पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई त्यही रात लक्ष्मी, चौथो दिन गोरु (गोबरधन) र पाचौं दिन दाजुभाइलाई पूजेर जम्मा ५ दिन मनाइन्छ ।
हरेक वर्ष काग, कुकुर, गाई, गोरु लगायत जनावरलाई पूज्नु र पूज्दा दुबो, मखमली तथा सयपत्री फूल, अमिलो, ओखर लगायत फलफूल को प्रयोग गर्नुले तिहार धेरथोर प्रकृतिसँग सम्बन्धित भएको सङ्केत गर्छ भन्ने संस्कृतिविद् डा.देवमणी भट्टराईको भनाइ छ ।
उहाँले तिहारलाई संस्कृति र परपूर्वकालदेखि चलिआएको परम्परासँग मात्र नभएर यसमा पालना गरिने नियम र मनाउने तरिकालाई मूलयाङ्कन गर्दै प्रकृतिसँग जोड्नुभएको छ । भन्नुहुन्छ, ‘मानव जीवन र प्रकृति एकअर्कासँग अन्तरसम्बन्धित छ । यो अकाट्य सत्यलाई नै हामीले चाडपर्वमार्फत् मनाउँछौं ।’
प्रकृतिका हरेक वस्तुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामीलाई जीवन जिउनमा मद्दत पु¥याइरहेको हुन्छ । र, त्यही वर्षभरि प्रकृतिले पु¥याएको सहयोगलाई ‘धन्यवाद’ भन्न उनीहरुको पूजा आराधना गरिएको हो ।
कागलाई परपूर्वकालदेखि नै हाम्रो समाजले दूतको संज्ञा दिएको छ । फेरि पंक्षीहरुमा सबैभन्दा बाठो पनि यसैलाई मानिन्छ । प्रविधिको विकास नभएको समयमा वर्षभरि खबर ओसारपसार गर्ने माध्यम काग नै थियो भनेर धेरै पौराणिक कथाहरुमा हामीले सुन्दै आएका छौं । अहिले पनि हाम्रा हजुरआमा, हजुरबुबा धूरीमा काग कराउनु कुनै नराम्रो खबरको सङ्केत हो भन्ने विश्वासमा अडिक छन् ।
यसरी आदिम कालदेखि नै कागले हाम्रो मानवजीवन सहज बनाउन ठूलो भूमिका निर्वाह गरेकाले त्यसको सम्मानस्वरुप काग तिहार मनाइएको हो ।
त्यसैगरी, दोस्रो दिन मनाइने कुकुर तिहारमा सबैभन्दा इमान्दार प्राणी कुकुरलाई पूजा गर्ने चलन छ । वर्षभरि हाम्रो धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।
हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ । यसरी कृषि, पशुपालन र ती पशुलाई पाल्ने स्थल, तीनै कुरा मानव सभ्यताको आधारभूत पक्ष भएकाले यिनीहरुको पूजा गरिएको हो ।
तेस्रो दिन, गाईलाई पूजा गर्ने चलन छ भने चौथो दिन गोरु तथा गोबरधन पर्वतलाई । यी तिनै पक्ष एकअर्कासँग सम्बन्धित छन् । यसका लागि विश्वकै इतिहासलाई पल्टाएर हेर्न जरुरी छ । हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ । मानव सभ्यताको शुरुवात नै कृषि तथा पशुपालनबाट भएको हो ।
संस्कृतिविद् डा.भट्टराई भन्नुहुन्छ, ‘गाईले वर्षभरि दुध दिन्थ्यो । गोरुले खेत जोतेर कृषिमा सहयोग पु¥याउँथ्यो । त्यस्तै द्वापार युगको प्रसङ्गलाई जोड्दा, कृष्ण भगवानले इन्द्रको पूजा गर्नुको सट्टा आफ्ना गाईवस्तुलाई खाना प्रदान गर्ने गोबरधन पर्वतको पूजा आराधना गर्नुपर्छ भनेका कारण हरेक वर्ष गोबरधन पर्वतको पूजा गरिएको हो । यसरी कृषि, पशुपालन र ती पशुलाई पाल्ने स्थल, तीनै कुरा मानव सभ्यताको आधारभूत पक्ष भएकाले यिनीहरुको पूजा गरिएको हो ।’
पशुपन्छी मात्र नभएर तिहारमा वनस्पतिको पनि उत्तिकै महत्त्व छ ।
यस मौसममा प्रकृतिले मखमली तथा सयपत्री फूलाउँछिन् अनि संस्कृतिले पनि ठ्याक्कै आफूसँग उनीहरुलाई जोड्छ । त्यस्तै पूजाआजाका दौरान दुबो, अमिलो, ओखर, फलफूल आदि प्रयोग हुनुले पनि यही सङ्केत गर्छ । ‘यसरी प्रकृति र संस्कृतिबीच तिहारले सुमधुर सम्बन्ध गाँसिदिन्छ,’ डा.भट्टराईले लोकपथलाई बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया