काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुक्रबारबाट सुरु भएको छ । आज तिहारको दोश्रो दिन कागको पुजा गरि मनाइँदैछ । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनबाट शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म (पाँच दिन) मनाइने तिहार्यसा वर्ष द्वादशीबाटै सुरु भएको छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ तिहारको पहिलो दिन यमदीपदान गरि मनाइएको छ भने आज दोश्रो दिन कागको पुजा गरि मनाइदैछ । तिहारको तेस्रो दिन कुकुर तिहार रहेको छ, भने यो वर्ष सोहि दिन नै लक्ष्मी पुजा पनि परेको छ । तिहारको चौंथो दिन गाई तिहार रहेको छ भने तिहारको अन्तिम दिन गोवर्द्धन पुजा र भाइटिका रहेको छ ।
काग तिहारको दिन आज कागको पूजा गरी मीठो मीठो खान दिइन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा, फट्याङग्राहरू खाइदिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
कागलाई परपूर्वकालदेखि नै हाम्रो समाजले दूतको संज्ञा दिएको छ । फेरि पंक्षीहरुमा सबैभन्दा बाठो पनि यसैलाई मानिन्छ । प्रविधिको विकास नभएको समयमा वर्षभरि खबर ओसारपसार गर्ने माध्यम काग नै थियो भनेर धेरै पौराणिक कथाहरुमा हामीले सुन्दै आएका छौं । अहिले पनि हाम्रा हजुरआमा, हजुरबुबा धूरीमा काग कराउनु कुनै नराम्रो खबरको सङ्केत हो भन्ने विश्वासमा अडिक छन् ।
यसरी आदिम कालदेखि नै कागले हाम्रो मानवजीवन सहज बनाउन ठूलो भूमिका निर्वाह गरेकाले त्यसको सम्मानस्वरुप काग तिहार मनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया