प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास

काठमाडौं । महानगरीय प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास गरिएको छ । भवन निर्माणमा लाग्ने आधा खर्च बूढानीलकण्ठ नगरपालिका र आधा खर्च स्थानीय जनश्रमदानमा निर्माण हुन लागेको उक्त भवनको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेलले बूढानीलकण्ठ क्षेत्रको शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीको आवश्यकता रहेकाले उक्त भवन निर्माण गर्न लागिएको बताउनुभयो । सरकारको जग्गामा निर्माण हुन लागेको भवन ६ महीनाभित्र सम्पन्न गरिने उहाँको भनाइ छ । प्रमुख खरेलले भवन निर्माणसँगै बूढानीलकण्ठ नगरपालिका–७ वडाका बासिन्दा शान्ति सुरक्षाबाट लाभान्वित हुने बताउनुभयो ।

पछिल्लो समय नगरपालिकाभित्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सिसी क्यामरा जडानलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सुवेदीले काठमाडौँको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन प्रभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आउँदै गरेका चाडपर्वलाई भड्किलो नबनाउन सबैलाई आग्रहसमेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?