काठमाडौंको नाग पोखरीमा छठको भव्य तयारी

काठमाडौं । काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ ।

छठ पूजा मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक १६ गते शनिबार नागपोखरीमा छठी माईको पूजा गर्ने व्यवस्था गरिएको जानकारी गराएको हो । पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा उदाउँदो सूर्यलाई अर्घ दिई सो पर्वको सुरुवात हुनेछ ।

मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन हिमाल, पहाड र तराई सबै ठाउँमा छठ पर्वलाई भव्य रुपमा मनाउने उद्देश्यका साथ काठमाडौंका नागपोखरीमा यस वर्ष पनि छठी माईको पूजा गर्ने व्यवस्था मिलाइएको समितिको संयोजक किशोरी महतोले जानकारी दिनुभयो ।

नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने जनाइएको छ । विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको हो । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घदिई मनाउने यो पर्वले आरोग्य लाभ हुने जनविश्वास रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?