महराको हिरासत बसाइ लम्बियो

काठमाडौं । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासत बसाइ लम्बिने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार बिहानबाट सुरु भएको थुनछेक बहस नसकिएकाले अदालतले महरालाई आज पनि प्रहरी हिरासतमै पठाएको हो ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरा सम्बन्धी मुद्दाको थुनछेक बहस भइरहेको छ ।

शुक्रवारदेखि शुरू भएको मुद्दाको कारवाही प्रक्रियामा अभियुक्तको बयानपछि आइतवार वकिलको बहस भएको छ । आइतवार सरकारी वकिल कार्यालयको बहस सकिएर महराको तर्फबाट अधिवक्ता भेषराज आचार्य र लभप्रसाद मैनालीले मात्रै बहस गर्न पाएका छन् ।

बहस गर्दागर्दै कार्यालय समय सकिएपछि थप बहस सोमवार गर्ने गरी इजलास स्थगित भएको छ । सोमवार पुनः बहस भएपछि अदालतले आदेश सुनाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?