जन्मकैदको मागदाबीसहित आलमविरुद्ध तीन वटा अभियोग

काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपमा पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमविरुद्ध जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

सोमबार वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको हो । अन्य १० जना भने फरार रहेको उल्लेख गरिएको छ।

अदालतमा मुद्दा दर्ता भइसकेपछि बयान र थुन्छेक बहस हुनेछ । त्यसपछि अदालतले पक्राउ परेका सांसद आलम साधारण तारेखमा, धरौटीमा वा पूर्पक्षको लागि जेल चलान गर्ने निर्णय गर्छ।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो।

आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?