आलमविरुद्ध मानवता विपरितको कसूर अपराध गरेको भन्दै मुद्धा दर्ता

काठमाडौं । इँटाभट्टाको चिम्नीमा दर्जन भन्दा बढी व्यक्तिलाई हालेर जिउँदै जलाएको अभियोगमा सांसद मोहम्मद अफताब आलमविरुद्ध मुद्धा दर्ता भएको छ ।

पहिलो संविधान सभाको चुनावका क्रममा त्यसरी अमानविय तबरबाट मानिसहरुको हत्या आरोपमा मुद्धा दर्ता गरिएको छ । आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गराएको हो ।

आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी सरकारी वकिल कार्याललयले गरेको छ ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, शेख सेराज, मोहम्मद मोविन आलम, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार रहेका छन् । साथै उनीहरुविरुद्ध पक्राउ पूजी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।

सरकारी वकिलको कार्यालयले त्यतिनै बेला घाइते भएका सफी अहमद र गौरीशंकर राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ ९२० बमोजिम कारबाही गर्न मागदावी गर्दै मुद्धा दर्ता गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?