प्रचण्डले भने: सरकारले प्रदेश प्रमुख फेर्नु सामान्य हो, नेपालको नोट अफ डिसेन्टबारे यस्तो भनाई !

काठ्माडौं  | नेकपा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखहरुलाई सरकारले फेर्नु सामान्य विषय भएको बताउनुभएको छ ।
५ नम्बर प्रदेशको बाँके र दाङमा हुन लागेको पार्टीको कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुग्नुभएका उहाँले बिहान आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तनसँगै प्रदेश प्रमुखहरुले राजीनामा दिनुपर्ने भएपनि त्यसो हुन नसकेकाले सरकारले प्रदेश प्रमुख फेर्नु सामान्य विषय भएको उहाँले बताउनुभएको हो ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई हटाएर सरकारले सोमबार नयाँ नियुक्ति गरेपछि विभिन्न टिकाटिप्पणी भइरहेको सन्दर्भ जोड्दै विदेशकै प्रचलनको उदाहरण दिँदै उहाँले भन्नुभयो, सरकार परिवर्तन भएसँगै प्रदेश प्रमुख फेरिन्छ । प्रदेश प्रमुखले नैतिक रुपमा राजिनामा गरिदिने र सरकारलाई काम गर्न सहज गर्ने प्रचलन छ ।
हाम्रो सरकार उदार भएकाले उहाँहरुलाई २ वर्ष काम गर्न दिएका हौँ ।यो ठूलो ठान्नु पर्ने विषय होइन ।’

सत्ता साझेदार दल समाजवादी पार्टी नेपालले मिडियाबाट प्रदेश प्रमुखको विषयमा थाहा पाएको भन्ने समाचार सञ्चारमाध्यममा आएको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो हामीले सल्लाह गरेर प्रदेश प्रमुख फेरेका हौँ ।
उहाँले थप्नुभयो, ‘प्रदेश प्रमुख फेर्ने विषयमा उपेन्द्रजीसँग सल्लाह भएको हो । उहाँले क्याबिनेटमा आफ्नो कुरा राख्नु भयो होला । पुरानोजति सबै पदमुक्त गर्ने भनिएकाले यसो भएको हो ।’

अर्को प्रसंगमा प्रचण्डले माधव नेपालले आफ्नो मान्छे नपर्दा निर्णयमा नोट अफ डिसेन्ट लेख्नुलाई स्वाभाविक रुपमा लिएको पनि बताउनुभयो ।
‘माधवजीले प्रदेश प्रमुखमा एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । तर चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक हो ।’ उहाँले थप्नुभयो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा मा प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर विवाद भएको थियो । नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षीमात्र राखेको भन्दै नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताले असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?