भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ :मन्त्री बस्नेत

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना-दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताउनुभएको छ ।

जिल्ला समन्वय समितिको समीक्षा बैठकमा आज उहाँले पूर्वाधार निर्माणनै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नतिको लागि यसै आवबाट काम शुरु हुने बताउनुभयो ।

मन्त्री बस्नेतले वातावरणीय प्रभाव मूल्याङ्कनको काम करीब करीब सकिएकाले सडकको स्तरोन्नतिको काम शुरु हुने उल्लेख गर्दै पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने बताउनुभयो ।

लुम्बिनी–रारा सडकखण्डअन्तर्गत जाजरकोट खण्डको खलङ्गा-पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरी काम गर्न लागिएको बताउँदै उहाँले पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्र गर्ने काम हुने उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तु बजारसम्म पुग्ने भन्दै अर्थ उर्पाजनको मुल आधार त्यहीबाट शुरु हुने बताउनुभयो ।

जाजरकोट आएको बजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथ बताउँदै उहाँले यसका लागि नागरिक सचेत भएर खबरदारीका लागि आग्रहसमेत गर्नुभयो ।

जिल्लाका तीन ठाउँमा विद्युत् प्रसारणका लागि सवस्टेशन निर्माण गर्न लागिएको मन्त्री बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?