काठमाडौं । मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा मंगलबारका लागि बयान सकिएको छ । मंगलबारको बयान सकिएपछि आलमलाई पुन: जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । आलमसँगको बाँकी बयानका बुधबार गरिने भएको छ ।
मंगलबार आलम पक्षका कानुन व्यवसायीले मिसिलको नक्कल उपलब्ध नगराएकामा विरोध जनाएपछि केहीबेरका लागि बयान स्थगित भएको थियो । उनका कानुन व्यवसायीले मिसिल पाएपछि पुन: २० मिनेटजति बयान भएपछि मंगलबारका लागि स्थगित भएको जिल्ला अदालतले जनाएको छ ।
८ सय ३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर प्रतिलिपि उपलब्ध गराइएपछि बयान शुरु भएको जिल्ला अदालत रौतहटले जानकारी दिएको छ । अदालतका अनुसार आलमको बयान मंगलबार दिउँसो ३ बजेर २० मिनेटबाट पुनः सुचारु भएको थियो ।
आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।
आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मर्ने उधोग र बम बिस्फोट गरी ३ मुद्दा चलाउने गरी अदालमा दायर भएको अभियोग पत्रमा उल्लेख गरिएको छ । आलमविरुद्ध २७ चैत २०६४ मा आफ्नै काकाको घरमा बम बनाएको, बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा हालेर मारेको अभियोग लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया