महराले गल्ती गरेकै हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । बलात्कारको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराबारे नेकपाका अध्यक्ष प्रचण्डले मुख खोल्नुभएको छ ।

दाङ पुग्नुभएका प्रचण्डलाई सञ्चारकर्मीहरुले महरा प्रकरणका विषयमा सोधेपछि प्रचण्डले भन्नुभयो, ‘महराले गल्ती गरेकै हुन् । यो विषय अदालतमा कानुनी प्रक्रियामा रहेकोले कानुन अनुसार नै कारवाहीको प्रक्रिया अघि बढने्छ ।’

महराले कमजोरी गरेपछि आफूलाई समेत ढाँटेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘महराले गम्भीर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो । महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो, पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टी भयो ।

आफैंले पनि स्वीकार्नुभयो’ प्रचण्डले पत्रकारसँग भन्नुभयो, ‘पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो । चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन, आफ्नो नेतृत्वलाई त्यसरी ढाँट्नु उचित भएन । झन् गल्ती भयो ।’

अध्यक्ष प्रचण्डले जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको बताउनुभयो । प्रचण्डले अदालतमा रहेको मुद्दाका विषयमा अहिले आफुले धेरै कुरा नगर्ने बताउँदै यस्ता घटनामा राजनीतिक संरक्षण समेत नहुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?