समाजवादी पार्टीले बनायो अशोककुमारलाई प्रदेशसभा उम्मेदवार

समाजवादी पार्टीले बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावमा अशोककुमार विकलाई उम्मेदवार बनाएको छ । सपाले आज उम्मेदवार परिचय तथा पत्रकार सम्मेलनमार्फत विकको उम्मेदवारी घोषणा गरेको हो ।

ढोरपाटन नगरपालिका–१ निवासी विक सपाका गण्डकी प्रदेश सदस्य हुन् । सपामा प्रवेश गर्नुअघि उनी नेपाली काङ्ग्रेसमा आबद्ध थिए । गएको स्थानीय तह चुनावमा नेकाँकोतर्फबाट नगरपालिका–१ को वडाध्यक्षमा उनी उम्मेदवार बनेका थिए।

सबैखाले विभेदको अन्त्य र समतामूलक समाज निर्माणको उद्देश्य पूरा गर्न आफू उम्मेदवार बनेको विकको भनाइ थियो । गाउँमै बसेर जनताको दुःख, सुखमा सघाएकाले चुनाव जित्ने विकको जिकिर छ ।

उम्मेदवार घोषणा कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले अरु पार्टीले जस्तो अव्यवहारिक र महत्वकाङ्क्षी चुनावी आश्वासन जनतालाई नबाँडिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?