काठमाडौं । पोषण सेवा विस्तार अभियानसम्बन्धी विश्व सम्मेलन बिहीबार काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको पोषण सेवा विस्तार अभियान (सन मुभमेन्ट) सचिवालय र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा चार दिन भएको सम्मेलन बिहीबार काठमाडौं घोषणापत्र जारी सकिएको छ ।
समापन समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले नेपाल सरकार आफ्ना विभिन्न नीतिनियम तथा कार्यक्रमहरू मार्फत् नेपाली बालबालिकाको पोषणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
संविधानले नै स्वास्थ्यलाई मौलिक हक मानेको उल्लेख गर्दै यादवले अन्य देशहरूमा पनि अझ बलियो बहुपक्षीय पोषण योजना हुनुपर्ने बताए ।
राष्ट्रसङ्घकी सहायक महासचिव तथा पोषण अभियान संयोजक गेर्डा भेनबर्गले सम्मेलनका सहभागीहरूलाई आआफ्ना देशमा फर्किएर अझ सक्रियताका साथ काम गर्न आग्रह गरेकि छन् । सम्मेलनमा करिब ७० देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए ।
सम्मलेनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिकाको पोषण दिगो विकास लक्ष्यका सबै बुँदासँग प्रत्यक्ष गाँसिएको उल्लेख गर्दै अभियन्ताहरू प्राप्त उपलब्धि नगुमून् भन्ने कुरामा सचेत हुनुपर्ने बताएका छन् । ‘आगामी पुस्ता अझ स्वस्थ र प्रतिभाशाली होस् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ ।’ अर्थमन्त्री डा. खतिवडाको भनार्इ रहेको छ ।
नेपाल सरकारका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जापान सरकारका प्रतिनिधि, नेपालका लागि जापानी राजदूत मासामिचि साइगोलाई काठमाडौँ घोषणापत्रमा संयुक्त हस्तान्तरण गरेका थिए ।
आगामी विश्व सम्मेलन आगामी हिउँदमा टोकियोमा हुने भएकाले घोषणापत्र जापानलाई हस्तान्तरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया