काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
लिपुलेक कालापानीसहित नेपाली भूभागलाई भारतमा पार्नेगरी भारतले जारी गरेको नक्साको विरोधमा जारी आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शनिबार बिहान आन्दोलनरत नेपाल विद्यार्थी संघका कार्यकर्तालाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर आन्दोलनलाई सशक्त पार्न निर्देशन दिएका हुन् । लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत विद्यार्थी नेताहरुलाई बोलाएर सभापति देउवाले सशक्त ढंगले आन्दोलन गरी राष्ट्रियता जगेर्ना गर्न निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिनुभयो ।
छलफलमा सभापति देउवाले आफुले नक्सा सच्याउन भारतीय राजदुत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी दिँदै काठमाडौंमा आन्दोलनलाई चर्को बनाउन आग्रह गर्नुभएको हो । सभापति देउवाले शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कुटनीतिक दवाव दिने र कार्यकर्ता तहबाट सडक चर्काउने योजना अन्तरगत रहेर काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको अस्कलमा जारी आन्दोलनका संयोजक समेत रहेका नेविसंघका नेता अर्यालले बताए ।
कांग्रेस सभापति देउवाले भारतीय नक्सा सच्याउनका लागि दवाव दिन राष्ट्रिय एकता आवश्यक भएको पनि बताउनुभएको छ । आफुले यो विषयमा सबै दलका शीर्ष नेता र प्रधानमन्त्रीसँग समेत छलफल गरिरहेको जानकारी कार्यकर्तालाई दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया