अयोध्या विवाद फैसलाप्रति पाकिस्तानको प्रतिक्रिया आउन थाल्यो, अब के हुन्छ ?

काठमाडौं । भारतीय सर्वोच अदालतले बाबरी मस्जिदको गुम्बव भएको स्थान हिन्दू पक्षलाई दिने फैसला शनिबार सुनाएको छ । अदालतले लामो समयदेखि प्रतीक्षा गरिएको विवादास्पद धार्मिकस्थल अयोध्याबारे शनिवार बिहान फैसला गरेको हो ।

राम मन्दिर-बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरका दिन पूरा भएको थियो। फैसला हुने तय भएदेखि नै अधिकारीहरूले शान्तिका लागि आग्रह गरेका थिए । उत्तर प्रदेश राज्यमा हजारौँ प्रहरी र अर्ध सैनिक दस्ताहरू तैनाथ गरिएको थियो ।

अयोध्यामा रहेको १६औँ शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौँदेखि तिक्ततापूर्ण विभाजन रहँदै आएको छ । यसबारे सर्वोच्च अदालतमा वर्षौँदेखि मुद्दा चल्दै आएकोले शनिवारको फैसला ऐतिहासिक मानिएको छ।

राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको छ। उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि रहेको बताउदै आएका छन् ।

सन् १९९४ मा भारतको सर्वोच्च न्यायालयले सम्बन्धित विषयमा आदेश जारी गर्दै मस्जिदको अवधारण “इस्लामको एकीकृत कुरा थिएन” भनेको थियो । त्यसले सम्पूर्ण भूभागमा नियन्त्रण चाहने हिन्दूहरूलाई बल पुर्‍याएको थियो। सन् २०१८ एप्रिलमा वरिष्ठ अधिवक्ता राजीव धवनले सर्वोच्च अदालतमा एउटा याचिका दर्ता गराए। त्यसमा न्यायाधीशहरूको उक्त टिप्पणीको पुनर्विचार गर्न माग गरिएको थियो। तर त्यसको केही महिनापश्चात् सर्वोच्च अदालतले त्यस्तो गर्न अस्वीकार गरिदियो।

उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० बर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् । बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको थियो ।

यस्तै अयोध्यामा रहेको मन्दिर र मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतको फैसलामा पाकिस्तानबाट पनि प्रतिक्रया आउन थालेका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले ट्वीटमार्फत् भने, ‘संसारले पुनः एकपटक अतिवादी भारतको वास्तविक अनुहार देखेको छ । पाँच अगस्टमा कश्मीरको भारतले संवैधानिक दर्जा समाप्त गर्‍यो र आज बाबरी मस्जिदबारे निर्णय आयो । अर्कोतर्फ पाकिस्तानले अन्य धर्मको आदर गर्दै गुरु नानकका सेवकका लागि करतारपुर करिडोर खोलेको छ ।’

पाकिस्तानका वरिष्ठ पत्रकार हामिद मीरले पनि ट्वीटमा भने, ‘बाबरी मस्जिदमा निर्णय आएपछि विभिन्न प्रश्न तेर्सिएका छन् । भारतको सर्वोच्च अदालतले यो हप्ता किन निर्णय सुनायो ? के पाकिस्तानले सिखका लागि करतारपुरम जे गरे त्यो प्रतिक्रिया स्वरुप यो निर्णय गरिएको हो ? यो निर्णय कानूनको आधारमा गरिएको हो वा बिजेपीको घोषणापत्रको आधारमा ?’

पाकिस्तानमा समा टिभीका वरिष्ठ पत्रकार नदिम मलिकले ट्वीट गरेका भनेका छन्, ‘भारतको सर्वोच्च अदालतले एक विवादित निर्णय गरेको छ । विवादित जमिन हिन्दुको मन्दिरका लागि दिइएको छ । ४६० वर्ष पुरानो मस्जिद हिन्दुले सन् १९९२ मा भत्काइदिएका थिए । मुसलमानका लागि पाँच एकड जमिन छुट्टै दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?