काठमाडौं । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका बताइएको छ ।
सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
डढेलो ग्रामिण बजाररहेको वस्तीमा पसेपछि भएको हताहतीको पूर्ण विवरण आउन अझै बाँकी रहेको छ । प्रारम्भिक जानकारीमा करिब १५० घरधुरी खरानीमा परिणत भएका छन् ।
उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताउनुभएको छ । घटनापछि कैयौँ व्यक्ति हराएका छन् भने स्थानीय सयौँ व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयम्सेवकका रूपमा निरन्तर काम गरिरहेका छन् ।
शनिबार हावाहुरी केही कम भएका कारण डढेलो नियन्त्रणमा केही सहजता मिलेको बताइएको छ । डढेलो करिब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको रिपोर्टहरूमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया