आलमको विषयमा आएको समाचारमा रौतहट प्रहरी ध्यानाकर्षण

काठमाडौं । हत्याको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मत आफताब आलमको विषयमा आएको समाचारमा जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

आलमको पक्राउको विषयलाई लिएर केही मिडियाले भ्रामक, तथ्यहीन र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले शनिबार विज्ञप्ति जारी गर्दै जिप्रका रौतहटले केही सञ्चारमाध्यमले जिल्ला प्रहरी कार्यालय रौतहट र जिम्मेवार प्रहरी अधिकारीहरु कर्तव्यचूत भएको भन्ने आशयका समाचारको खण्डन गरेको छ ।
‘यति गम्भीर मुद्दामा आधारहीन समाचार प्रकाशित गरेर ती अनलाइनले सम्मानित जिल्ला अदालत रौतहटमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने कुत्सित मनसाय राखेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।

बहाल कानुन र विभागीय नीति, निर्देशनबमोजिम जिल्ला प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र रहेकोले जिप्रका रौतहटले आलमलाई पक्राउ गरेको घामजत्तिकै छर्लङ्ग रहेको उल्लेख गरिएको छ। भ्रामक समाचार सम्प्रेषण जारी रहे कानुनी उपचार खोजिने भन्दै ती सञ्चारमाध्यमलाई चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?