काठमाडौं । आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १:३० बजेदेखि २:३० बजेसम्म पसल बन्द गर्ने निर्णय गरिएको बताइएको छ।
डडेल्धुरामा आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएको बताइएको छ ।
आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिएका छन् । अन्य सवारी भने रोकिने छैन । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने सरकारी गाडी चल्नमा रोक लगाउने कुरा आफूहरुलाई मान्य नहुने बताए । प्रजिअ पौडेलले भने ‘सरकारी गाडी चल्छन्, कसैले रोक लगाउँदैमा थन्किनन् ।’
यस्तै अनससन स्थलबाट शुक्रबार डडेल्धुरा अस्पताल सारिएका डा केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ । ‘अहिले ब्लड प्रेसर र मुटुको चाल बढेको छ, उहाँको थप केही जाँचगर्नुपर्ने देखिन्छ, जुन यो अस्पतालमा सम्भव छैन’ डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा जितेन्द्र कँडेलले बताएका छन् । पिसाबमा देखिएको समस्या सुधारउन्मुख नदेखिएकाले पनि धेरै समय डडेलधुरामा राख्न उपयुक्त नरहेको कँडेल बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया