उपनिर्वाचन : बाग्लुङमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्द !

काठमाडौँ। बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीले आफ्नो उम्मेदवारी नरहेको बताएका छन् । घर्तीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन कार्यालय बागलुङमा उम्मेदवारी दर्ता गरेको पनि विशेष कारणबस उम्मेदवारी फिर्ता लिने समय सकिएकाले नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा बामपन्थी उम्मेदवारको रुपमा रहनु भएका खिमविक्रम शाहीको पक्षमा पूर्ण समर्थन गर्दै मेरो स्वतन्त्र उम्मेदवारी नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’ हेलिकप्टरबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सदरमुकाम लगेको थियो ।

बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय लगिएको हो । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारले चाहे उम्मेदवारी फिर्ता लिने समय थियो।

तर समय सकिइसकेपछि मात्र घर्ती सदरमुकाम पुगेका थिए। नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने निर्णय गरेको थियो। त्यसैले नेकपाबाट आधिकारिक उम्मेदवार थिएनन्। नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएको छ। घर्तीले कात्तिक २१ गते (बिहीबार) बागी उम्मेदवारी दर्ता गराएका थिए। मंसिर १४ गते हुने उपचुनावका लागि नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिकलाई समर्थक बनाएर घर्तीले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?