सरकारले दियो निजी मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम

काठमाडौं । विद्यार्थीहरुबाट उठाएको अतिरिक्त शुल्क फिर्ता दिन निजी मेडिकल कलेजहरुलाई सरकारले १५ दिने अल्टिमेटम दिएको छ । अतिरिक्त शुल्क फिर्ता नगरे ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई शिक्षामन्त्री पोखरेलले आग्रह गरेका छन् । चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै उनले भने, ‘उहाँहरुले मिलाउनु भएन भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जान्छ ।’ शिक्षामन्त्री पोखरेलले भने।

१५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ । तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने मन्त्री पोखरेलको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?