एक सेट तासको मुल्य एक लाख ! हारजितकाे पहिल्यै जानकारी

काठमाडौं । प्रहरीले रहस्यमयी तरिकाले जुवा खेल्न प्रयोग हुने ताससहितको सामाग्री बरामद गरेको छ।

महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले आइतवार सेन्सरजडित तास बरामद गरेको हो। प्रहरीले बरामद गरेको तासमा खेल्ने व्यक्तिले कसले जित्ने र कोसित के पर्‍यो भन्ने प्रष्ट देखिने बताइएको छ।

प्रहरीले लामो समयको सूचनापछि अनुसन्धान गर्दा उक्त तास बरामद गरेको हो । सीतापाइलाबाट तासलगायतका अन्य सामाग्री स्टोर गरी विक्री वितरण गर्ने सर्लाही बरहथवा नगरपालिका वडा ९ का ३६ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको कोठामा प्रहरीले सेन्सरजडित ब्याग, एयरफोनलगायत अन्य सामाग्रीसमेत बरामद गरेको हो ।

कार्कीले एक सेट तासको एक लाख रुपैयाँसम्म विक्री गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ । एक सेट तासमा एउटा मोबाइल, एयरफोनसमेत रहेको प्रहरीले जनाएको छ।

प्रहरीले कोठाबाट कपडा, अन्य सामाग्रीमासमेत सेन्सर जडान गर्नुको रहस्य भएकाले अनुसन्धान भइरहेको जानकारी दिएको छ। तास खेल्ने बेला प्रयोग गरिने पैसामासमेत सेन्सर जोडिएको पाइएको छ। सेन्सन जोडिएका एक हजार रुपैयाँका १४ थान नोटसमेत प्रहरीले बरामद गरेको छ।

तास लगायत अन्य सामाग्री चीनबाट ल्याएको प्रहरीको अनुसन्धानमा देखिएको छ। अहिलेसम्म कति तास विक्रि भए भन्ने खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?