भारतविरुद्ध सीमा अतिक्रमणको विराेधमा ब्यापक आन्दाेलन भइरहेकाे बेला स्वतन्त्र राष्ट्रवादी युवाहरुको समूहले देशका विभिन्न जिल्लामा चीनले पनि नेपाली भूमि हड्पेको भन्दै विरोध प्रदर्शन गरेकाे छ। हिजो र आज गरी सर्लाही, राजविराज र बर्दियामा उक्त समूहले चिनियाँ राष्ट्रपति सी चिङ पिङको पुत्ला दहन गरेका छन्।
स्वतन्त्र राष्ट्रवादी युवाहरुको समूहले चीनको हेपहा प्रवृतिको विरोधस्वरुप पुत्ला दहन गरेका हुन्। चीनले नेपालको भू–भाग अतिक्रमण गरेको विरोधमा पुत्ला जलाइएको उक्त समूहका एक सदस्यले बताए।
चीनले संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लामा ३६ हेक्टर नेपाली जग्गा अतिक्रमण गरेको बताइन्छ।
यता संसदीय समितिको बैठकमा याे विषयले प्रवेश पाएकाे छ। नेपाली कांग्रेसका दुई सांसदले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेपछि संसदीय समितिमा याे विषयले प्रवेश पाएकाे हाे।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको सोमवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह र देवेन्द्रराज कंडेलले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेका हुन् ।
सांसद सिंहले उत्तरी सीमा मिचिएको बारेपनि बोल्नु पर्ने बताए ।
त्यस्तै नेपाली कांग्रेसकै देवेन्द्रराज कंडेलले दोलखाको ७० नम्बरको पिल्लरलगायत उत्तरतर्फ पनि केही विवाद रहेको भन्दै समाधान गर्नुपर्ने बताए ।
कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार नेपाली जमिन चीनले मिचेको जनाइएकाे छ। नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया