काठमाडौं । मित्र राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका क्रममा बिहीबार पोखरा आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकन गर्नुहुनेछ । राष्ट्रपति हमिदको पोखरा भ्रमणका कार्यक्रम निर्धारित भएसँगै पोखरामा यसको तयारी तीव्र पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।
प्रजिअ केसीका अनुसार बिहीबार बिहान १०ः३० बजे राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल आउनुहुनेछ ।
विमानस्थलबाट राष्ट्रपति हमिदले सीधै फेवाताल किनारास्थित फिष्टेल लजमा पुगी आराम तथा भोजन गर्नुहुनेछ । फेवातालमा केही समय जलविहार गर्दै उहाँले अपराह्न २ः३० बजे पोखरा विमानस्थलबाट हेलिकप्टरमा रुपाकोटस्थित ‘रुपाकोट’ रिसोर्ट पुगी दृश्यावलोकन गर्ने कार्यक्रम छ ।
रुपाकोटमा दृश्यावलोकनपछि उहाँ हेलिकप्टरबाट सीधै काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रजिअ केसीले जानकारी दिनुभयो । राष्ट्रपति हमिदको पर्यटकीय नगरीको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । अतिविशिष्ट व्यक्तिको भ्रमण हुनु आफैंँमा महत्वपूर्ण रहेको पर्यटन व्यवसायी बताउँछन् । राष्ट्रपति हमिदको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो । राष्ट्रपति हमिदको पोखरा बसाइ भव्य बनाउन सबैले आआफ्ना तर्फबाट सहयोग पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को संस्थापक सदस्य बङ्गलादेशबाट नेपालमा वार्षिक २५ देखि ३० हजारसम्म पर्यटक आउँछन् । भौगोलिक निकटता, त्यहाँको ठूलो जनसङ्ख्यालगायत कारण बङ्गलादेश नेपालको राम्रो पर्यटन बजार रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो । अतिविशिष्ट व्यक्तिको भ्रमणसँगै यसले देशी विदेशी सञ्चारमाध्यममा राम्रो चासो र चर्चा पाउने भएकाले राष्ट्रपति हमिदको पोखरा भ्रमणले महत्वपूर्ण अर्थ राख्ने उहाँको भनाइ छ ।
विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि लोभ्याएको थियो । सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवं् विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय उक्त समयमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो ।
उक्त बैठकमा सहभागी हुन आउनुभएका भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलगायत पाहुनाले पोखरालाई भगवान्ले फुर्सदमा बनाएको ठाउँ र प्रकृतिको अनुपम वरदान भएकाले महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त गन्तव्य जस्ता उपमा दिनुभएको थियो । यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया