काठमाडौं । रौतहटको इशनाथ नगरपालिका ४ स्थित प्रहरी चौकी रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारतीय नागरिकलाइ पक्राउ गरेको छ । प्रहरी चौकीलाई लक्षित गरी प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारतीय नम्बर प्लेट ०५एच६५०९ नम्बरको मोटरसाइकलमा आएका २ व्यक्तिले मठिया प्रहरी चौकीलाई लक्षित गरी बम प्रहार गरेका थिए । बम प्रहारबाट डिउटीमा रहेका प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवानमा महानगरीय सशस्त्र प्रहरी अनाश्रीत गुल्म–२ काठमाडौंमा दरबन्दी भइ मठिया प्रहरी चौकीमा कार्यरत रञ्जित कुमार यादव छन् । उनको काखीदेखि तिघ्रासम्म चोट लागेको छ । प्रहरी चौकीलाई लक्षित गरी प्रहर गरिएको बम विस्फोट हुँदा प्रहरी चौकी नजिकै चउरमा चरिरहेको बाख्रा मरेको प्रहरीले जनाएको छ ।
प्रहरीले बम विस्फोटमा प्रयोग भएको मोटरसाइकलका चालक भारतको ढाका घर बताउने २५ वर्षी चन्दन कुमारलाई पक्राउ गरेको छ । बम विस्फोट भएको प्रहरी चौकीदेखि करिब १ किलोमिटर दक्षिणतर्फ नेपाल भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकीमा बम आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा १० जनाको टोली परिचालन गरिएको जनाइएको छ ।
मठिया प्रहरी चौकीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको थियो । घटनामा संलग्न हाल फरार रहेका मोटरसाइकलमा सवार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया