काठमाडौं । नेपालको भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा शयर गर्नुभएको छ । उहाँ बिहिबार मध्यान्ह करिब १२ बजे पोखरा पुग्नु भएको थियो । राष्ट्रपति हमिद काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा जानुभएको थियो ।
विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उहाँको स्वागत गर्नु भएको थियो ।
राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फुल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको थियो । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुग्नुभएको छ । उहाँ पोखराको फेवातालमा जलविहार गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यसपछि उहाँ हेलिकप्टरमा रुपाकोट रिसोर्ट जानुहुने छ । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्ने क्रार्यक्रम रहेको छ । रुपा गाउँपालिकाले त्यहाँ स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच झाँकीहरु प्रदर्शन गर्नेछ । रुपाकोटमा उनले एक घण्टा बिताउने कार्यक्रम छ । आज नै काठमाडौं फर्किनु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया