मंसिर ४ गतेदेखि नेपाल-भारत सीमा सुरक्षा बैठक बस्दै

काठमाडौं । नेपाल-भारत सीमा सुरक्षा बैठक मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने भएको छ । बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल हुने भएको छ । गृहमन्त्रालयका अनुसार सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सीमा विवादको विषयमा भने छलफल नहुने मन्त्रालयले बताएको छ ।

नेपाल भूभाग लिपुलेक, कालापानीलगायतका क्षेत्र भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरुद्ध नेपालमा आन्दोलन भएको छ । नेपाल सरकारले कालापानी, लिपुलेकलगायत भारतले मिचेको भूभाग नेपालकै भएको भन्दै भारतको नक्सा सच्याउन कूटनीतिक पहल गर्ने जनाएको छ । तर, भारतले भने आफूले जारी गरेको नक्सा सही भएको बताउँदै आएको छ ।

अहिले सीमा विवादको चर्किएको समयमा सीमा सुरक्षा बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु सहभागी रहने बताइ‌एको छ । बैठकमा पेस गर्ने एजेण्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गृह मन्त्रालयमा पेस गरि सकेका छन् ।

बैठकमा प्रस्तावमा सीमा क्षेत्रमा हुने अपराध, अवैध ओसारपसार नियन्त्रण, संयुक्त सुरक्षा गस्तीलगायतका विषय छलफल हुने छ । हरेक वर्ष हुनुपर्ने नेपाल-भारत सीमा सुरक्षा बैठक नियमित हुन सकेको छैन । २०६९ साल पछि अहिले सम्म तीनपटक सीमा सुरक्षा बैठक बसेको छ ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक २०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक आउँदो मंसिर पहिलो साता पोखमा बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?