काठमाडौं । मंसिर १ गतेदेखि कुवेतको जजिरा एयरवेजले काठमाडौंमा उडान सुरू गरेको छ ।
कुवेत इन्टरनेसनल एयरपोर्टबाट नेपालका लागी उडान भर्ने यो एयरलाइन्सले हप्तामा चार दिन मात्र उडान गर्ने एजेन्सीेले जनाएको छ ।
कुवेतबाट यो भन्दा अघिपनि वातानीय एयरलाइन्सले नेपालका लागी उडान सुरू गरेको थियो । तर निरन्तरता दिन नसकि बन्द भएको थियो ।
पछिल्लो समय नेपालबाट कुवेत जाने नेपालीहरुको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएकोले पनि उडान सञ्चालनमा सहजता आउने विज्ञहरुको भनाइ छ ।
२५ वटा बिभिन्न बिदेशी एयरलाइन्सहरुले नेपालका लागी उडान गरिरहेका छन् भने तीन नेपाली एयरलाइन्सले विदेश उडान गरिरहेका छन्।
पछिल्लो समय नेपालमा धेरै विदेशी एयरलाइन्सहरुसँग हवाइ सम्भौता भएका छन् । यसरी हवाइ सम्झौता हुनुले पर्यटनमा प्रत्यक्ष फाइदा पुग्ने गर्दछ । त्यस्तै हालसम्म नेपालको अन्तर्राष्ट्रिय हवाई बजारको व्यापारमा ९० प्रतिशत हिस्सा विदेशी एयरलाइन्सको रहने गरेको छ ।
जजिरा एयरलाइन्सले अहिलेको लागी ४ दिनमात्र उडान गरेपनि विमानस्थल निर्माणको काम सकिएपछि सातैदिन सञ्चालन हुने एयरलाइन्सको नेपालका लागी जेनरल सेल्स एजेन्ट रहेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रवीचन्द्र सिंहले बताउनुभयो । “यसको उडानले श्रम बजारसँगै पर्यटन बजारलाई पनि सेवा दिनेछ” , उहाँले थप्नुभयो ।
नेपाल भ्रमण वर्ष शुरु हुनै लाग्दा कुवेत लगायतका देशबाट नेपालमा घुम्न आउनेहरूको संख्यामा बृद्धि भइरहेको छ । यसरी विदेशी एयरलाइन्सको उडानले गर्दा पर्यटकहरु पनि बढ्ने उहाँको विश्वास रहेको छ । साथै अन्य देशको तुलनामा नेपालको हवाई भाडा महँगो भएका कारण अझै आकर्षित गर्न गाह्रो भएको पनि उहाँले बताउनुभयो ।
विश्वबजारको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य ३० प्रतिशतसम्म महँगो रहेको छ । साथै नेपालको विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ चार्ज पनि धेरै हुँदा भाडा महँगो पर्न जाने गरेको अध्यक्ष सिंहले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया