ट्रम्प र इमरान खानको कुराकानी, अफगान शान्ति र मेलमिलापमा इस्लामाबादको प्रतिबद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको छ ।पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्पले पाकिस्तानलाई अमेरिकी र अष्ट्रेलियाका प्राध्यापक केभिन किङ् र तिमोथी वीकसलाई रिहा गर्न सहयोग पुर्‍याएकोमा पाकिस्तानले गरेको प्रयासको लागि धन्यवाद दिनुभएको छ ।

यी दुई प्राध्यापकलाई गत तीन वर्षयता तालिबान लडाकू समूहले अपहरण गरेका प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । दुई प्राध्यापकलाई तालिबानले उक्त समूह र अफगान सरकारबीच भएको एक सम्झौताअनुसार रिहा गरेका थिए । सोही सम्झौताअनुसार सोमबार साँझ अनास हक्कानीसहित तीन आतङ्कवादीलाई बग्राम जेलबाट रिहा गरिएको थियो ।

सन् २०१६ मा काबुलमा अवस्थित अमेरिकी विश्वविद्यालयबाहिर ती प्राध्यापकहरूलाई अपहरण गरिएको थियो, जहाँ दुवै प्राध्यापकले प्राध्यापन गर्ने गर्दथे । अफगानिस्तान सरकारले रिहा गरेका ती आतङ्ककारीहरू हक्कानी नेटवर्क समूहका प्रमुख सदस्य अनस हक्कानी तथा वरिष्ठ तालिबानी सदस्यहरू हाजी माली र अब्दुल रशीद हुन् । साथै द्विपक्षीय र क्षेत्रीय मुद्दाहरुका विषयमा पनि नेताबीच छलफल भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?