यातायात व्यवस्था कार्यालयमा दैनिक पाँचदेखि १० चालक अनुमतिपत्र फर्जी भेटिएको छ । कार्यालयमा रहेको अभिलेखमा नभेटिएका फर्जी चालक अनुमतिपत्र रद्द गरिएको हो ।
चालक अनुमतिपत्र नवीकरणका लागि आएका सेवाग्राहीका अभिलेख नदेखिएपछि रद्द गरिने कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताउनुभयो । सेवाग्राहीले जानेर वा अञ्जानमा त्यस्तो चालक अनुमतिपत्र बनाएको उहाँले बताउनुभयो । चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण (चेक लिस्ट) का आधारमा अनुमतिपत्र सही हो होइन भनी छुट्याइने गरिएको छ । सूचीमा नभएका फर्जी चालक अनुमतिपत्र नवीकरण गर्न आउने शुरुमा फर्जी हो भनेर स्वीकार गर्न नचाहने उहाँले बताउनुभयो ।
कार्यालयले अभिलेखमा नपाइएको भन्दै प्रहरीलाई खबर गर्ने भनेपछि उनीहरुले आफैँ रद्द गर्न निवेदन दिने गरेका छन् । उहाँले भन्नुभयो, “पहिले सक्कली हो भनेर दाबी गर्ने व्यक्ति पछि निवेदन दिन तयार हुन्छन् ।” यातायात व्यवस्था विभागले सक्कली हो होइन बुझेर मात्रै नवीकरण गर्दै आएको छ । कार्यालयले त्यस बखत चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण (चेक लिस्ट) का आधारमा चालक अनुमतिपत्र सही हो होइन छुट्याउने गरेको छ । कार्यालयमा कतिपय अभिलेख व्यवस्थित नहुँदा भने समस्या आउने उहाँको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया