गलेश्वर शिवालयमा एकैदिन पाँच लाख २६ हजार भेटी सङ्कलन

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीका दिनमा मात्रै पाँच लाख २६ हजार बढी भेटी सङ्कलन भएको छ ।

पर्वका अवसरमा गलेश्वरको दर्शन, पूजापाठ र शत्बीज छर्न आएका भक्तजनले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका कक्षको शुल्कसमेत गरी पाँच लाख २६ हजार १२३ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

भक्तजनले चढाएको भेटिलाई सुरक्षाकर्मीको रोहोबरमा गणना गरी बैँकमा जम्मा गरिँदै आएको छ । यस वर्षको बालाचर्तुदशीमा गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन भित्रिएका कारण भेटी रकम समेत बढी सङ्कलन भएको कोषाध्यक्ष पुनले बताउनुभयो ।

कालीगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा सोमबार शत्बीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको थियो । यसवर्षको बालाचर्तुदशीमा आएका भक्तजनको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको र सङ्कलन हुने भेटी रकमसमेत बढेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सोमबार बालाचर्तुदशीको अवसरमा गलेश्वरमा ५० हजार बढीले दर्शन तथा पूजापाठ गरेका कोषले जनाएको छ । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शत्बीज छर्ने चलन छ । शत्बीज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, काठमाडाैँ, चितवन, नवलपरासी लगायतका ठाउँबाटसमेत ठूलो सङ्ख्यामा भक्तजन गलेश्वर आएका कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?