काठमाडौं । उद्योग मन्त्री लेखराज भट्टले भारतबाट आयातित चिनीको मूल्य भन्दा नेपालमा उत्पादित चिनी महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताउनुभएको छ ।
उहाँले उद्योगीहरुले चिनी उत्पादन महँगो बनाउने र किसानलाई उँखुको मूल्य नदिने प्रवृतिको अन्त्य गर्न आफुले काम गर्ने बताउनुभयो ।
आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै मन्त्री भट्टले नेपालका किसानले पाउने उखुको मूल्य भन्दा बढी भारतका किसानले पाउने भएपनि भारतमा उत्पादित चिनी सस्तो भएको बताउनुभयो । उहाँले त्यही चिनी ३० प्रतिशत भन्सार बुझाएर लयाउँदा समेत नेपालको भन्दा सस्तो पर्ने र नेपालमै उत्पादित चिनी सो भन्दा महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताउनुभयो । उद्योगीहरु इमान्दार नबन्दा विद्युत महसुल उठन नसकेको, उत्पादन बढ्न नसकेको तथा उखु किसानहरुले समयमा भुक्तानी नपाएको जस्ता समस्या आएको उहाँले बताउनुभयो ।
उहाँले उद्योगीहरुले आफ्ना समस्या पहिचान नगरी सरकारलाई काम गरेन भन्नु गलत भएको समेत बताउनुभयो । सरकारलाई आरोप लगाउनुभन्दा समस्या र त्यसको समाधान के हो दुवै लिएर मन्त्रालयमा आउन समेत उद्योगीहरुलाई मन्त्री भट्टले आग्रह गर्नुभयो । उहाँले उद्योगीहरुलाई उत्पादन सस्तो बनाउन तथा निर्यातजन्य वस्तुको उत्पादन बढाउन पनि आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया