काठमाडौं । नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ ।
यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘NEPALTELECOM’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिने टेलिकमले जनाएको छ ।
डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यस पश्चात मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिन्छ ।
यही एपमार्फत तपाईं आफन्त वा साथिभाईलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सक्नुहुनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनुहुन्छ भने एप खोली गिफ्ट प्याकेज्समा क्लिक गर्नुपर्दछ ।
त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० रुपैयाँमा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० रुपैयाँमा ७ दिनको १९० एमबी र १०० रुपैयाँको ५०० एमबी तथा २४० रुपैयाँको २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ । कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।
यसैगरी यही एपको गिफ्ट प्याकेज्समा गई भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो, भने जम्मा १ सय मात्र लाग्दछ । जम्मा २४० रुपैयाँमा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ ।
साथै ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ । यस योजनामा जसले गिफ्ट दिने हो उनकै मोबाइल व्यालेन्सबाट रकम कटिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया