काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आगामी संस्करण पाकिस्तानले आयोजना गर्ने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग आयोजना निश्चित गरेको हो ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको आगामी संस्करण आयोजनाको झण्डा लिन पाकिस्तान सरकारलाई सांस्कृतिक नृत्य सहित आमन्त्रण गरेको थियो । तर पाकिस्तानले नोभेम्बर २९ मा पत्र लेख्दै समय थोरै भएकाले सांस्कृतिक नृत्य प्रस्तुत गर्न नसक्ने तर १४ औं संस्करणको झण्डा आफुले लिने प्रतिबद्वता जनाएको ओलम्पिक कमिटि स्रोतले जनाएको छ ।
बर्णानुक्रम अनुसार साग आयोजनाको पालो पाकिस्तानको रहेको थियो । सोही अनुसार पाकिस्तानलाई साग आयोजना गर्न दक्षिण ओलम्पिक काउन्सिलले पत्र पठाएको थियो ।
दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला प्रत्येक दुई बर्षमा आयोजना गर्ने प्रचलन रहेको छ ।
नेपालले तेस्रो पटक साग खेलकुद मुख्य तीन शहरमा सञ्चालन गरिरहेको छ । डिसेम्बर १० को समापनको दिन पाकिस्तान सरकारले आगामी संस्करणको साग आयोजनाको झण्डा लिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया