११ जुन, १९८६ ।
त्यो रात चर्चित कग्निटिव न्यूरो वैज्ञानिक गिनी रिप्पनका लागि खास थियो किनकी त्यस रात उनले छोरीलाई जन्म दिएकी थिइन् ।
रिप्पनलाई राखिएको वार्डमा जम्मा ९ जना बच्चाको जन्म भएको थियो । सबै बच्चालाई उनीहरुको आमालाई सुम्पिने क्रममा रिप्पनको पालो आयो । बच्चालाई रिप्पनको हातमा राखिदिँदै नर्सले भनिन्, ‘यो बच्चा सबैभन्दा बढी रोइरहेकी छे, आवाज नै छोरीको जस्तो छैन’ ।
१० मिनेटअघि मात्र जन्मिएको आफ्नो बच्चालाई छोरा वा छोरीको श्रेणीमा विभाजन गरेको देखेर रिप्पन सोचमग्न भइन् ।
महिला र पुरुषबीच लैंगिक विभेदको कुरा विश्वभरि नै फैलिएको छ । जब कि उनीहरुलाई भगवानले एउटै तरिकाले बनाएका छन्, उनीहरु एउटै रथका दुई पाङ्ग्रा हुन् जस्ता भनाइहरु प्रचलित भएतापनि जन्मजातै उनीहरुको प्रवृत्ति भिन्न हुन्छ भन्ने गरिन्छ ।
यही विचारलाई चुनौती दिन रिप्पन कैयौं वर्षदेखि यस विषयमा अनुसन्धान गरिरहेकी छिन् । उनको अध्ययनको कतिपय नतिजालाई ‘दि जेन्डर्ड ब्रेन’ नामक किताबमा लेखेकी छिन् ।
रिप्पन आफै वकालत गर्छिन् कि मानिसको दिमाग उनीहरुको लिंगका आधारमा भिन्न हुँदैन बरु समाजले उनीहरुलाई यस्तो सोच्न बाध्य बनाउँछ ।
जन्मिएदेखि मरुन्जेलसम्मको चालढाल, हिँडाइबोलाइ आदिजस्ता गतिविधीलाई मध्यनजर गर्दै भनिन्छ कि छोरी र छोराको मस्तिष्क एकअर्का भन्दा फरक हुन्छ ।
मानिसहरुको यही सोचबाट रिप्पन आजित छिन् । अहिलेको २१ औं शताब्दीमा पनि यस्ता अफवाहरुले गर्दा लैंगिक विभेद जीवित रहेको उनी बताउँछिन् ।
लगभग २ सय वर्षदेखि हामी यो जान्न कोशिस गर्दै छौं कि पुरुषको दिमाग महिलाको दिमाग भन्दा फरक छ कि छैन । तर यस प्रश्नको कुनै जवाफ आएको छैन । विज्ञान र प्रविधिको सहायता लिइसके पछि पनि केही पुराना विचारहरु पूर्ण रुपमा गलत साबित भएका छन् । यद्यपि यो भिन्नता समाजबाट हराइरहेको छैन ।
त्यहाँ एक सत्य पनि छ कि महिलाको दिमाग आकार पुरुषहरु भन्दा करिब १० प्रतिशत सानो हुन्छ र यसको आधारमा महिलाको बुझाइलाई कम महत्व दिइन्छ ।
रिप्पन भन्छन् कि यदि बुद्धिमत्ता र समझ मस्तिष्कको आकारसँग सम्बन्धित भएको भए हात्ती र ह्वेलको मस्तिष्क मानवहरु भन्दा धेरै ठूलो छ । त्यसोभए किन तिनीहरुसँग मानव समझ छैन ? भनिन्छ कि प्रख्यात वैज्ञानिक आइन्स्टाइनको दिमाग औसत पुरुषको भन्दा सानो थियो । तर उनको समझ र बुद्धि अरुभन्दा कम थिएन । बरु बढी थियो ।
दिमागको आकारसँग क्षमताको सम्बन्ध ?
यस आधारमा, यो भन्न सकिन्छ कि मस्तिष्कको आकारको बुद्धिमत्तासँग कुनै सरोकार छैन । यद्यपि समाजमा भेदभावपूर्ण सोचले यसको जरालाई बलियो बनाउँदैछ ।
नक्शा पढ्ने काम पूर्ण रुपमा बुझाईको आधारमा आधारित छ । तर प्रायः यो काम पुरुषहरुलाई मात्र दिइन्छ किनभने यो विश्वास गरिन् छ कि उनीहरुले यो कार्य अझ राम्रोसँग गर्न सक्दछन् ।
रिप्पन भन्छिन कि दिमागको आकार भिन्नता बढाइचढाइ गरिएको छ । हामीलाई थाहा छ हाम्रो दिमाग दुई गोलार्धमा विभाजित छ ।
यी दुई भागको बीचमा कर्पस क्यालोसम छ जुन मस्तिष्कको दुई भागका बीच एक पुलको रुपमा कार्य गर्दछ ।
यसलाई सूचना पुल पनि भनिन्छ । र यो पुल पुरुषहरु भन्दा महिलामा फराकिलो छ ।
के भन्छ विज्ञान ?
यो अनुसन्धानले महिलाहरुलाई तर्कहीन भन्नेहरुलाई ऐना देखाउँछ । अक्सर भनिन्छ कि महिलाहरुमा सोच्ने क्षमता कम हुन्छ किनभने, भावनाहरुले उनीहरुको सोचाइमा बढी प्रभुत्व जमाउँछ । जबकि अनुसन्धानले यी सबै चीजहरु गलत प्रमाणित गर्दछ ।
रिप्पन आफ्नो पुस्तकमा लख्छिन्, ‘आम मान्यता के छ भने पुरुष गणित र विज्ञानमा जान्ने हुन्छन् । उनीहरुको दिमागले यी दुई गाह्रो विषयलाई धेरै राम्ररी बुझेको हुन्छ । तसर्थ, उनीहरु नोबेल वा अन्य त्यस्तो ठूलो पुरस्कारहरु जित्ने सामथ्र्य राख्छन् । जबकि यी दावीहरु पूर्ण रुपमा गलत छन्। दशकौं अनुसन्धान पछि, यो प्रमाणित भयो कि दिमागले उही तरीकाले काम गर्दछ । बरु एक पुरुष र एक महिलाको दिमागबीच भिन्नता छुट्टयाउन पनि मुस्किल हुन्छ ।
हाम्रो सोचाइमा हर्मोनको ठूलो भूमिका हुन्छ । महिलाहरुलाई प्रत्येक महिनावारी हुन्छ, यस समयमा धेरै प्रकारका हार्मोनहरु उनीहरुको शरीरमा चलायमान हुन्छन् र यस आधारमा, तिनीहरुलाई धेरै महत्वपूर्ण अवसरहरुमा काम गर्नबाट रोकिन्छ ।
अमेरिकाको अन्तक्रिया कार्यक्रममा पनि महिलालाई यस आधारमा समावेश गरिएको थिएन । ‘प्री मेन्स्ट्रुअल सिन्ड्रोम’को अवधारणा पहिलो पटक १९३० मा आएको थियो । आज पनि धेरै मानिसहरु विश्वास गर्छन् कि महिनावारी हुनुअघि महिलाको शरीरमा परिवर्तनले उनीहरुको बुझ्ने क्षमतालाई पनि असर गर्छ ।
अर्को अनुसन्धानको आधारमा, रिप्पन भन्छिन् कि मासिक धर्म शुरु हुनुअघि, महिलाहरुमा ठूलो मात्रामा एस्ट्रोजेन हार्मोन सक्रिय हुन्छ र यसले महिलाको सोच््ने शक्तिलाई सकरात्मक रुपमा प्रभाव पार्छ ।
के महिला र पुरुषको दिमागले एकै प्रकारले काम गर्छ ?
रिप्पनका अनुसार कतिपय विश्वासले समाजमा यस्तो जरा गाडेका हुन्छन् कि तिनीहरुले अनुसन्धानको नतिजालाई समेत आफू अनुसार ढाल्न सक्छन् । आखिर, अनुसन्धानकर्ता पनि त यही समाजका प्रतिनिधि न हुन् । सामाजिक विचारहरुले उनीहरुलाई पनि प्रभाव पार्छ र, महिलाहरुको सोचाइ पनि उही धारणा अनुसार आकार लिन थाल्छ ।
यसमा कुनै शंका छैन कि मूलतः हामी सबैको मस्तिष्क एकै प्रकारले काम गर्दछ तर, भविष्यमा यसले कसरी काम गर्छ भन्ने कुरा हाम्रो हातमा हुन्छ । हामीले यसलाई कसरी ‘ट्रेन’ गर्छौं, केकस्ता ज्ञान हासिल गर्छौं, कस्तो संस्कार पाएर हुर्किन्छौं भन्ने कुराले ठूलो भूमिका खेल्छ ।
यद्यपी, समाजले वर्षौंदेखि महिला र पुरुषबीच भेदभाव गर्दै आएको छ । अचम्मको कुरा त यो छ कि बच्चाले खेल्ने खेलौनालाई पनि हामीले उसको लिंगको आधारमा विभाजन गरेका छौं । यदि केटाले गुडियासँग खेल्न शुरु गरे भने, परिवार चिन्तित हुन्छ कि छोराले कतै अर्कै दिशा त पक्रिने होइन !
यद्यपी धेरै मानिसहरु भन्छन् कि लिंगका आधारमा बच्चालाई कुनै खेलौना खेल्नबाट वञ्चित गर्नुहुँदैन । रिप्पनका अनुसार बच्चाहरुलाई त्यस्ता खेल र खेलौनाहरु खेलाउनुपर्छ जसले उनीहरुको मस्तिष्क विकासमा मद्दत पु¥याओस् । उनीहरुलाई सानोमै केटा र केटीबीच हुने भेदभावको चक्रमा फसाउनु हुँदैन ।
बेलायतमा यसका लागि ‘लेट टोयज बि टोयज’ नामक अभियान नै चलाइएको छ । अस्ट्रेलियामा पनि यसैसँग सम्बन्धित ‘प्ले अनलिमिटेड’ नामक अभियान चलाइयो ।
यस्ता अभियानबाट आंशिक सफलता पनि प्राप्त भएको छ तर, यसलाई अझै व्यापक स्तरमा विश्वभर लैजानुपर्ने आवश्यकता महसुस गरिएको छ ।
जे होस् हरेक अनुसन्धानले यही बताउँछ कि मानिसको मस्तिष्कले उसको लिंगको आधारमा काम गर्ने पक्कै होइन । समयसँगै वरिपरिका संरचना, वातावरण, ज्ञानको स्तर, संस्कार आदिले कसरी उसको मस्तिष्कलाई ‘ट्रेन’ गर्छन् भन्ने कुरामा भर पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया