काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । यस अवधीमा सरकारले आन्तरिक राजस्व तथा भन्सार गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो। उक्त अवधीमा २ खर्ब ३२ अर्ब २४ करोड मात्र राजस्व संकलन भएको छ। संकलित राजस्व लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासमा लक्ष्य भन्दा २७.८९ प्रतिशतले कमि भएको आन्तरिक राजस्व कार्यलयले जनाएको छ । संकलित राजस्वमा भने भन्सार कार्यालयहरूबाट १ खर्ब २२ अर्ब ७८ लाख राजस्व संकलन गरिएको छ ।
आन्तरिक राजस्व कार्यालयहरूमा १ खर्ब ६ अर्ब १४ करोड ८५ लाख रूपैंयाँ बराबरको राजस्व संकलन गरिएको पाइएको छ । उक्त रकम लक्ष्यभन्दा १९ अर्बले कमि हो । पहिलो चौमासिकमा आयकरबाट ३४ अर्ब २८ करोड १८ लाख ८३ हजार राजस्व असुल गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । यस्तै घरबहाल करबाट भने ८९ करोड ८५ लाख बराबरको राजस्व संकलन हुन आएको छ ।
यस अवधीमा सबैभन्दा धेरै मूल्य अभिबृद्धि कर (भ्याट) तर्फबाट राजस्व संकलन हुन आएको छ । यस अवधीमा भ्याटबाट ३५ अर्ब ६४ करोड राजस्व संकलित भएको छ । तर यो पनि लक्ष्यभन्दा करिब ६ प्रतिशतले कमि असुल भएको छ । भने ब्याजकरका तर्फबाट भने ९ अर्ब ५७ करोड असुली भएको तथ्यांकमा उल्लेख रहेको छ। साथै अन्तःशुल्क असुली २४ अर्ब ५३ करोड बराबरको राजस्व संकलन
भएको छ। तर अन्तःशुल्क अन्तर्गत पनि लक्ष्यभन्दा २७ प्रतिशतले कमि हो । त्यस्तै शिक्षा क्षेत्रबाट २७ करोड ९ लाख तथा स्वास्थ्य क्षेत्रबाट ९४ करोड १७ लाख र राजस्व असुली भएको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासमा राजस्व संकलनलाई मुल्यांकन गर्दा सबैभन्दा धेरै भ्याट ३३ प्रतिशत रहेको छ । साथै दोस्रोमा भन्सार महसुल २० प्रतिशत छ । त्यस्त आयकरमा १७ प्रतिशत असुल प्रतिशतले असुल भएको छ । भने अन्तशुल्कमा पनि त्यति नै प्रतिशत अर्थात १७ प्रतिशतले नै राजस्व संकलन हुन आएको छ । साथै गैरकर अन्तर्गत १० प्रतिशत संकलन हुदाँ अन्य शीर्षकमा ३ प्रतिशत राजस्व असुल गरिएको छ ।
अघिल्लो वर्षको तुलनामा आयकर संकलनमा भने उल्लेख्य मात्रामा बृद्धि भएको छ । सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेसँगै आयकरमा उल्लेख्य सुधार भएको हो । चालु आवको पहिलो चौमासमा अघिल्लो वर्षको यहि अवधीमा भन्दा २५ दशमलव ५ प्रतिशतले आयकर संकलनमा बृद्धि हुन आएको छ ।
सरकारले निर्देशन दिएसँगै हाल प्यान लिनेको संख्या २९ लाख २७ हजार ८ सय ३६ रहेका छन् । तिनीहरुबाट सरकारले ४ महिनाकाे अवधीमा मात्र ३४ अर्ब २८ करोड १८ लाख ८३ हजार राजस्व असुल गरेको छ । तर यो पनि सरकारको लक्ष्य भन्दा कम नै हो । सरकारको लक्ष्यभन्दा १०.७ प्रतिशतले कमि हुन आएको आन्तरिक राजस्वले जनाएको छ ।
कुनै देशको राजस्व संकलनमा त्यस देशमा आयात हुने सामानको आधारमा निर्धारण गरिन्छ । खाद्यन्न, निर्माण तथा अन्य विलासिताको सामानहरुको आयात धेरै भएमा राजस्वको दायरा पनि बढि नै हुने गर्दछ । नेपालमा पछिल्लो समय आयातमा कमि भएको कारण पनि आयातबाट राजस्व संकलनमा कमि आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया