अटो दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको सनाखत भएको छ ।

राप्ती नगरपालिका ४ चेपाङ मार्गको भित्री सडक खण्डमा चौकी डाँडातर्फ गइरहेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । साथै एक जना घाइते भएका थिए ।

दुर्घटनामा परि मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ निवासी २५ वर्षीया मीना खड्का, ३२ वर्षकी माया तामाङ, ३५ वर्षकी निरु नेपाली, पर्बत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घरभई हाल चितवन खैरहनी नगरपालिका ८ बस्ने ४९ वर्षका श्याम प्रसाद तिवारी र खैरहनी ९ बस्ने ४२ वर्षका बिश्वमणी भण्डारी रहेको प्रहरीले जनाएको छ । मृतकहरुको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा घाइते चितवन खैरहनी ३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?