काठमाडौं । मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टोलीको टुङ्गो लागेको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टिमको टुङ्गो लागेको हो ।
कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेटकिपर), खड्क बोहरा, अरुण ऐरी, आकाश चन्द, शेर मल्ल, दीपक बोहरा, किरणकुमार ठगुन्ना, गजेन्द्र बोहरा, सुशील खड्का, विकास आग्री, विक्रम ठगुन्ना र महेश अधिकारी रहनुभएको छ ।
यस्तै वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, भोजराज भट्ट, अमन पन्थी र नरेश बोहरा रहेको नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
यसैबीच एमएम कप खेल्न जाने सुदूरपश्चिमको टोलीमा वैकल्पिकसहित बैतडीका चार खेलाडी परेका छन् । खड्क, दीपक र गजेन्द्र अन्तिम १४ मा पर्नुभएको छ भने वीरेन्द्र वैकल्पिक खेलाडीका रुपमा टिममा पर्नुभएको हो ।
आगामी पुस १५ गतेदखि सुनसरीको इनरुवामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल), आयोजक, मलेशियाको राष्ट्रिय टोली र सातै प्रदेशका गरी १२ टोली सहभागी हुने भएका छन् ।
प्रतियोगिताको विजेताले चार लाख पाँच हजार र उपविजेताले दुई लाख पाँच हजार पुरस्कार पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया