काठमाडौं । बुटवल, पोखरा र नारायणघाट शहरहरुका बीच भागमा काठमाडौँ उपत्यका झै लाग्ने रामपुर अवस्थित छ । भौगोलिक अवस्थिति हेर्दा काठमाडौँ शहर जस्तै लाग्छ रामपुर उपत्यका ।
पाल्पा सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर पूर्व रामपुर उपत्यका पर्छ । रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भू–भाग, डाँडाकाँडाको बीचमा पर्ने सुन्दर शहरको रुपमा यो उपत्यका अगाडि बढ्दैछ ।
रामपुर नगरपालिकाभित्र ऐतिहासिक, पर्यटकीय तथा धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापूधाम, राम्चे वन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाट जस्ता महत्वपूर्ण स्थलहरु छन् । यी क्षेत्रले पर्यटकलाई लोभ्याइरहेका छन् ।
रामपुरको पौराणिक इतिहास
त्रेतायुगमा भगवान् रामचन्द्र बनवास जाने क्रममा पाल्पाको रामपुरमा आएर बास बसेको र उनै भगवान्को नामबाट रामपुर रहन गएको किंवदन्ति छ । बनवासको क्रममा रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको रामघाटमा स्नान गरेको भन्ने कथन छ । त्यही भएर यस घाटलाई रामघाट भनिएको हो ।
रामघाट क्षेत्रमा रामगुफा, चमेरे लगायतका दर्जनौं गुफा छन् । यहीँ तपस्या गरेर बसेका बखत रामचन्द्रकी धर्मपत्नी सीता रजस्वला भएपछि उनलाई लुकाउन साविक दर्छा गाविसको माथिल्लो भागमा लगियो । रजस्वला भएका बखत नुहाउन त्यहाँ पानी नभएपछि रामचन्द्रले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरेको किम्वदन्ति छ । सीताले त्यही कुण्डमा नुहाएको हुनाले सीताकुण्ड नाम रहन गएको हो ।
बूढापाकाका अनुसार यस कुण्डमा पहिले चामल फल्ने गरेको र स्नान गर्न आउने उपवास बसेकाले भोक लाग्दा चामल थुतेर खान थालेपछि धान फल्न थालेको हो । कुण्ड परिसरमा जीर्ण सीता मन्दिरको मर्मत, पर्खाल, ठाँटी निर्माण लगायतका काम बढाइएको छ ।
रामपुर बजारबाट कुण्डसम्म जाने सडकको स्तरोन्नति भएका कारण अहिले यो क्षेत्रमा अवलोकन भ्रमणका निम्ति विभिन्न स्थानबाट आउनेको चहलपहल बढ्दै गएको सीताकुण्ड मन्दिर संरक्षण समितिका सचिव रुद्र नेपालीले बताउनुभयो । यस कुण्डलाई रामपुर नगरपालिकाले दश उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरेको छ ।
यहाँ जलदेवी, सीतामाई, भैरमकाली र सेती नाग रहेको छ । पहिले पहिले यहाँ पशुबलि दिने गरेकामा केही वर्ष यता भने पशुबलि अन्त्य गरी फलफूल र नरिवल चढाउने गरिन्छ ।
यहाँ रामनवमी, कृष्ण जन्माष्टमी, अक्षय तृतीयाका अवसरमा विशेष मेला लाग्छ । रामनवमीमा रामले नुहाएको कालीगण्डकीको रामघाटको जल ल्याई सीताकुण्डमा चढाउने प्रचलन छ ।
रामपुरको कला, संस्कृति र रहनसहनले यहाँ आउने प्रत्येकलाई लोभ्याउने गरेको छ । ब्राह्मण, नेवार, मगर, मुस्लिम लगायतका समुदायको रहनसहन अध्ययन गर्नेका लागि यो अनुपम स्थल रहेको रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष मुरारीप्रसाद काफ्ले बताउनुहुन्छ ।
“नेपालकै एकमात्र शालिग्राम पाइने पवित्र कालीगण्डकी, विभिन्न समुदायका कला, संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरताले भरिपूर्ण रामपुरमा अध्ययन अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटक आउने क्रम बढिरहेको छ,” उहाँले भन्नुभयो ।
त्यस्तै, कालीगण्डकीले टापू आकारमा घेरेको खैरेनी सामुदायिक वन यहाँको अर्को आकर्षण हो । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ ।
पौराणिक कथन अनुसार मुक्तिनाथदेखि बगेर आएको कालीगण्डकी रामपुर नगरपालिकाको साबिक खालिवन गाविसको खैरेनी सामुदायिक वनबाट दक्षिणतर्फ बग्ने क्रममा त्यहाँ खैरी नाम गरेकी गाई ब्याएर बसेको थियो ।
गाईले बच्चा जन्माएर बसेपछि बग्दै आएको नदी सोही बाटो फर्केर उत्तरतर्फ बग्दै गएको भन्ने किम्बदन्ति छ । यस क्षेत्रलाई धेरैले गाईले बच्चा पाएर नदी घुमेको स्थान भनेर पनि चिनन्छन् । नदी बगेर फर्केको दक्षिणतिरको भागमा ठूला साना गरी १० वटा जति ओढार छन् ।
ओढारमा त्रेतायुगमा ऋषिमुनि आएर बसेको पौराणिक कथनले पनि यसको धार्मिक महत्वलाई दर्शाउने स्थानीयवासी एवं साविक खालिवन गाविसका पूर्व गाविस सचिव एकराज अर्यालले बताउनुभयो ।
तानसेनबाट खालिवनको बाटो हँुदै रामपुर झर्ने जो कोही पनि खैरेनी वनका मनोरम दृश्य, चराचुरुङ्गीको चिरबिराहट सुन्दै फेदीमा झर्ने गर्दछन् ।
झण्डै गाडीमा आधा घण्टाको ओरालो बाटो हुँदै फेदीमा झरेको कसैलाई पत्तै हुँदैन । अधिकाँशले मोबाइल, क्यामेरामा सेल्फी र तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गरेकाले यसको चर्चा अझै चुलिँदै गएको छ । यहीँको दृश्य नियाल्नकै निम्ति पक्की सडक छोडेर जब्गादीबाट कच्ची सडक हुँदै कतिपय रामपुर बजार झर्ने गर्छन् ।
“अति सुन्दर मनै लोभ्याउने प्रकृति नियाल्दै, रमाउँदै फेदीमा झर्दा जो कसैलाई पनि सपनाबाट विपनामा ब्युँझिए जस्तो आभास हुन्छ,” अर्यालले थप्नुभयोे – “यो न कुनै बनावटी हो वा कल्पना, यो त प्रकृतिको सुन्दरता हो ।”
उत्तरबाहिनी कालीगण्डकीले खैरेनी सामुदायिक वनलाई घेरेको अनौठो दृश्य कवि वा गीतकारलाई मात्र नभई सबैलाई लोभ्याउने स्थानीयवासी बताउँछन् ।
अठार हेक्टर क्षेत्रफलमा फैलिएको वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापू आकारमा घेरेको छ । नदीले घेरेको वनलाई सानो खैरेनी वन र नदीले नघेरेकोलाई ठूलो खैरेनी वन भनी नामकरण गरिएको छ ।
वनभित्र गौतम बुद्धको मूर्तिसहितको कुटी निर्माण गरिएको छ भने एउटा निर्माणाधीन पौवा छ । वर्षायाममा नदीले दक्षिणतिरको क्षेत्रबाट बगेर टापू आकारको खैरेनी वनलाई घेर्ने हुँदा त्यहाँसम्म पुग्न डुङ्गा सञ्चालन गर्न सकिए यस क्षेत्रमा दिनहुँ पर्यटक आउने सरोकारवाला बताउँछन् ।
कालीगण्डकी करिडोरबाट करीव आधा घण्टाको पैदल दूरीमा रहेको यो स्थानमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सकिए आम्दानीको स्रोत पनि बढाउन सकिन्छ । सरकारको १०० पर्यटकीय गन्तव्य स्थलमा परेको तालपोखरा यहाँको अर्को पर्यटकीय आकर्षण हो ।
सामान्यतः वर्षाको पानी जम्मा हुने पोखरीलाई कृत्रिम तालका रुपमा विकास गरेसँगै यसले फेवातालको आभास दिन थालेको छ । तालपोखरामा डुङ्गामा सयर गर्ने र पार्कमा रमाउन आउने पर्यटक बढ्दै गइरहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।
छत्र शैली र गुम्बा शैलीमा जनकपुरको झझल्को दिने गरी राममन्दिर परिसरमा रामजानकी मन्दिर निर्माण भइरहेको छ । त्यस्तै, यहाँकै राम्चे वनको भ्युटावरबाट रामपुरको दृश्यावलोकन गर्न सकिन्छ ।
संस्कृति र प्रकृतिको बरदान यहाँका पर्यटकीय स्थल एवं कला संस्कृतिलाई संरक्षण गरी देशकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“बाहुनडाँडाबाट प्याराग्लाइडिङ् सञ्चालन गरी यस क्षेत्रलाई प्याराग्लाइडिङ हबका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ,” थापाले भन्नुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया