काठमाडौं – देशैभरि चिसो बढेको छ । चिसो बढेसँगै अहिले हुस्सु र कुहिरोले आम सर्वसाधारणहरुको जनजीवन अस्तव्यस्त भएको छ । चिसो मौसमसँगै पहाडी भेगमा कुहिरो र हुस्सुका कारण आम नागरिहरुको दैनिकी अस्तव्यस्त हुनथालेको छ भने तराइका जिल्लाहरुमा शितलहरले सताउन थालेको छ । उल्लेखनीय रुपमा मौसम प्रणालीमा परिवर्तन नभएपनि तराईका जिल्लाहरुमा चिसोको प्रकोप बढ्न थालेको छ ।
न्युनतम र अधिकतम तापक्रम बीचको अन्तर कम हुने क्रम जारी रहेकोले तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरोले ढाकेको बताउँछन् मौसमविद बरुण पौडेल । तर यो शितलहर भने होइन ।
“केहि दिनसम्म तराईका अधिकांश क्षेत्रमा लगातार हुस्सु तथा कुहिरो लाग्ने र दिउँसो पनि घाम नलाग्ने सम्भावना छ” मौसमविद् पौडेलले लोकपथसँगको कुराकानीमा भने, हिजो देखि तराईका अधिकांश क्षेत्रमा कुहिरो र हुस्सु लाग्न सुरु भएको हो,देशैभरि परेको पानीका कारण चिसो अत्याधिक बढ्न थालेको हो, अझै केहि दिनसम्म कुहिरो र हुस्सु तराईमा रहिरहनेछ । उनले भने— “काठमाडौं सहित केहि पहाडी जिल्लाहरुमा विहान कुहिरो र हुस्सु लागे पनि दिउँसो घाम लाग्छ, तर चिसो भने धेरै हुन्छ ।”
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने मौसम आंशिक बदली हुने सम्भावना रहेको पौडेल बताउँछन् ।
“वर्षाका कारण जमिन भिजेको तथा ओसिलो भएको छ, त्यहि जमेर बसेको पानी घाम लागेपछि जलबाष्पको रुपमा उडेको भएर कुहिरो र हुस्सु लागेको हो” मौसमविद् पौडेलले थने । पश्चिमी वायुको प्रभाव अहिले देखिँदै छ । केहि दिनमा नेपालको अधिकांश क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिन्छ । र स्वतः कुहिरो र हुस्सु हटेर जाने उनको भनाई छ । मौसमविद पौडेल भन्छन्—“केही दिनसम्म रहने पश्चिमी वायुले चिसो थप बढाउँछ, तर वायुमण्डलमा भएको धुलोको कण सँगै लिएर जान्छ र वातावरण त्यसले सफा पार्छ ।”
चिसोको अत्याधिक असर वृद्धवृद्धा, बाल—बच्चा एवम् बिरामी र विशेष अवस्थाका मानिसलाई हुने गर्छ ।
बिहीवार देशको पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र आउँदो शुक्रबार देशको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली हुनेछ । साथै पश्चिम भेगका केही भने स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको पौडेलले बताए ।
अहिले पश्चिम तराईका कैलालि, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि र नवलपुर तथा मध्य तराईका चितवन, पर्सा, बारा, रुपन्देहि, सर्लाहि, धनुषा र परासि र पूर्वी तराईका महोत्तरि, सिरहा, सप्तरि, सुनसरि मोरङ र झापामा बाक्लो कुहिरो र हुस्सु लागेको छ ।
गृहमन्त्रालयले पनि तराईका अधिकांश स्थानहरुमा दाउरा, खानेकुरा र सिरक, कम्बलहरु ल्गायत न्यानो कपडा वितरण गरिसकेको पौडेलले बताए ।
गृहमन्त्रालयले जाडोका लागि आवश्यक सामाग्रीहरु राडी—पाखी सिरक र खानेकुरा आदि तराईका जिल्लाहरुमा लगेर बाँडिसकेको छ ।
कुहिरो र हुस्सुबाट बच्न के गर्ने ?
१. विहान र साँझ घरबाहिर निस्किँदा मास्क र न्यानो कपडा प्रयोग गर्ने ।
२.सवारीसाधन चलाउँदा बाक्लो न्यानो र हावा नछिर्ने कपडा लगाउने विशेषगरी हात, घाँटी, पुरा छोप्ने कपडा लगाउने ।
३.घाम लागेतापनि न्यानो कपडाहरु लगाउने ।
४. घरमै बस्दा पनि न्यानो र तातो ठाउमा बस्ने । तर हावाको निरन्तर ओहोरदोहोर हुने स्थानमा बस्नुपर्छ ।
५.तातो पानी, तातो झोल पदार्थ प्रशस्त पिउने ।
६.हुस्सु लागेको छ भने सवारीसाधनहरुले लाईट बालेर हिँड्नुपर्छ ता कि बाटोमा अन्य सवारीसाधनहरुलाई देख्न सकियोस् । यसका अलावा
७.बाईक चलाउनेहरुले झनै सावधानी अपनाउनुपर्छ । किनभने हुस्सु लागेको समयमा बाइक चिप्लिन सक्ने सम्भावना हुन्छ । विहान पर्ने तुसारोमा पनि चिसो हुनाले ह्याण्डिल राम्ररी समातिदैन । तसर्थ स्पीड निकै कम गर्नुपर्छ ।
८.बालबच्चा, बिरामी तथा वृद्धवृद्धाहरुलाई न्यानो स्थानमा राख्नुपर्छ ।
धेरै बाक्लो कुहिरो लागेको खण्डमा भने शितलहर शुरु हुने र हप्ता दिनसम्म रहन सक्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए ।
यसअघि लोकपथ डटकममा प्रकाशित यी समाचार पढ्नुभएको थियो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया