२९ लाख बेरुजु नमिलाउँदा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे, कर्मचारी आन्दोलित

रूकुम – रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि बुधबार साँझ कुटपिट भएको छ । कार्यालयको काम सकेर घर फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा कुटिएका हुन् ।

आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । चेन प्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ । कुटपीटबाट सूचना प्रविधि अधिकृत चन्दलाई सामान्य चोटपटक लागेको छ ।उनीहरुमाथि कुटपिट र लछारपछार गरेको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ ।केसीले केशरमानकै योजनामा आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि वडाध्यक्षलाई पक्राउ गरिएको र संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान विकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले कुटपिट गरेको बताए । आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानले आफूसँग पटपटक त्यो रकम मिलाइदिन भनेको र नमिल्ने बताएपछि त्यसकै रिस फेर्न आक्रमण भएको उनको दाबी छ ।
उपचारका लागि काठमाडौं आउन लागेका उनले त्यहाँ गएर काम गर्ने वातावरण नभएको भन्दै अन्यत्र सरुवा गरिदिन माग गरेका छन् ।

डेढ वर्षअघि पनि यहाँ एकजना इन्जिनियर जनप्रतिनिधिबाट कुटिएका थिए ।

यसैबिच एकपछि अर्को आक्रमणका घटना भएपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । उनीहरूले निमित्त प्रशासकीय र आइटी अधिकृत कुटपिटमा संलग्नमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि सम्पूर्ण काम ठप्प पार्ने विज्ञप्तीमार्फत घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?