विपद् व्यवस्थापन समितिको आकस्मिकः शीतलहरबाट कसरी बच्ने ?

चिसोले जनजीवन प्रभावित बन्न थालेपछि मोरङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा प्रजिअ भुजेलले शीतलहरले विशेषगरी तराईका जिल्लाहरुमा बढी असर गर्ने भएकाले प्रभावित क्षेत्रमा आवश्यक पर्ने कम्बल, दाउरा र चिकित्सक उपलब्ध गराउने जानकारी दिए ।

खासगरी शीतलहरबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि आकस्मिक बैठक बसेको हो ।

जिल्ला जनस्वास्थ्य कार्याललयका प्रतिनिधि रामनन्द यादवले शीतलहरबाट बच्न मानिसले तातो हुने खानेकुरा खानुपर्ने, घर बाहिर कम निस्कने, आगो ताप्ने, न्यानो हुने लुगा लगाउनुपर्ने सुझाव दिए ।

बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले आजदेखि प्रहरीको सक्रियतामा जिल्ला भरीमा १८२ स्थानमा आगो बाल्ने काम भएको भन्दै यो कार्य शीतलहर हुन्जेलसम्म निरन्तरता दिने जानकारी दिए ।

कोशी अस्पतालका डा सन्ध्या ज्ञवालीले यो मौसममा अस्पतालमा दमको रोगीको चापसँगै बालबालिकाहरुलाई पनि चिसोले दुःख दिएर उपचार गराउन आउनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?