काठमाडौं । नेपालमा किड्नी फेल (मृगौला निष्क्रिय) भएर सिकिस्त भएका बिरामीको संख्या वर्षेनी बढिरहेको छ । रगतमा भएका दूषित तत्त्वलाई छानेर पिसाबबाट निकास गराउने भित्री अंगको नाम नै मृगौला (किडनी) हो । मृगौला दुईवटा हुन्छन्, तर अपवादको रुपमा कसैको एउटै मात्र हुनसक्छ । यसले शरीरमा पानीको मात्रासहित पोटासियम, सोडियम र क्याल्सियमको मात्रालाई सन्तुलित बनाइराख्ने काम गर्छ ।
खुट्टा, पेट र अनुहार सुन्निनु, बिहान आँखाको पलकभन्दा तल्लोपट्टी सुन्निएको हुनु किड्नी खराब भएको प्रारम्भिक लक्षण हुन् । तर यसरी सुन्निएको अवस्था सदैव किड्नी रोगका कारणले भएको भन्न मिल्दैन । अर्कातिर, किड्नी खराब भएको अवस्थामा कतिपय बिरामीमा सुन्निएको देखिँदैन । किड्नी खराब भएमा उच्च रक्तचाप हुनु स्वतःसिद्ध छ । किड्नीले काम गर्न छोडेपछि खाना र रगतमा भएको विषाक्त तत्व शरीरमै बढ्दैजान थालेपछि वाकवाकी, वान्ता, बाडुली लाग्न थाल्छ । भोकमा कमी हुनथाल्छ । रक्तअल्पता (एनिमिया), कमजोरी, थकाई बढ्दैजान्छ, शरीर दुख्ने, चिलचिलाउने, खुट्टा बाउँडिने, पिठ्युँको तल्लोभाग दुख्ने पनि हुन्छ । पिसाबमा कमी, पिसाब पोल्ने, पिसाब निस्कने प्रक्रियामा बाधा–रोकावट, पिसाब गर्नमा कठिनाइ अनुभव हुनु पनि किड्नीको बिरामीमा देखिने लक्ष्यण हुन् ।
रगतमा ‘क्रिएटिनिन’ र ‘युरिया’ भन्ने तत्वको मात्रा जाँच गरेर किड्नीले कत्तिको काम गरिरहेको छ भनेर पत्ता लगाउन सकिन्छ । त्यसैले त किड्नीको क्षमता चेक गरेर आफू ढुक्क हुन बारम्बार सल्लाह दिने गरिन्छ । यी दुई तत्त्व जाँच्न धेरै खर्च लाग्दैन । दुवै मृगौलाको कार्यक्षमतामा ५० प्रतिशतभन्दा ज्यादा ह्रास आयो भने रगतमा क्रिएटिनिन र युरियाको मात्रा सामान्यभन्दा बढी देखिनथाल्छ । दुईटामध्ये एउटा मृगौला कुनै कारणले बेकामे भएछ भने एउटैबाट काम चल्छ । मृगौला फेर्दा पनि एउटै मात्र फेर्ने हो ।
‘किड्नी फेल्योर’ दुई कारणबाट हुन्छ । अनेक रोगका कारण मृगौलाले काम गर्न नसकेको अवस्थालाई ‘एक्युट किडनी फेल्योर’ भनिन्छ । सो रोगको उपचार गरेर निको हुनासाथ मृगौलाले फेरि पूर्ववत काम गर्नसक्छ । ‘क्रोनिक किड्नी फेल्योर’ जसलाई हामी ‘सीकेडी’ भन्छौँ, यो किसिमको फेल्योर विभिन्न रोग वा हानिकारक खानपानको परिणामस्वरुप मृगौला महिनौँसम्म क्रमशः कमजोर हुँदै गएर आखिर डायलाइसिस गर्न वा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्छ ।
क्रोनिक किड्नी फेल्योरका रोगीहरूले खानपानमा यी उपाय र खाद्यपदार्थ लिनु ठीक हुन्छ– आफ्नो खानामा सोडियम, पोटेसियम र फस्फोरसको मात्र कम हुुनुपर्छ । फाइबरयुक्त (रेसावाला) र भिटामिनयुक्त खाना मजाले लिन सकिन्छ । मृगौला खराब भएपछि पानी तथा तरल पदार्थ ज्यादा खानु हुँदैन । मृगौलाको क्षमतामा ह«ास आए सँगसँगै अधिकांश रोगीमा पिसाब त्याग्ने क्षमता कम हुँदैगएको हुन्छ । यस्तो अवस्थामा बढी पानी वा तरल खाद्य पदार्थ लिनु भनेको शरीर सुन्निने सम्भावना बढ्नु हो । बिमारीले पिसाब जति परिमाणमा गरेको हुन्छ सोही अनुपातमा पानी वा तरल खाद्य लिनु उचित हुन्छ । पानी वा तरल वस्तु खानमा पूर्ण संयम अपनाउनुपर्छ । प्रोटिन नगन्य मात्रामा लिने । तर डायलाइसिस गरिरहेको बिरामी भए प्रोटिनको मात्रा बढाउनु पर्ने हुनसक्छ । कार्बोहाइड्रेट सामान्य मात्रामा लिन सकिन्छ । त्यसका लागि भात, आलु, गहूँको रोटी, दाल, तरकारी, फलपूmल, मह, मिठाई आदि खान सकिन्छ । तर बिमारीलाई मधुमेहको पनि समस्या भए यस्ता खाद्यवस्तु कमै मात्रामा खानुपर्ने हुन्छ ताकि गुलियोको मात्रा २० प्रतिशतभन्दा ज्यादा नहोस् ।
आजकाल किड्नी फेल्योरसँगै यसको प्रत्यारोपणको प्रचलन पनि निकै बढेको छ । शिकागो विश्वविद्यालयमा सन् १९०७ मा मेडिकल अनुसन्धाता सिमोन फ्लेक्स्नरले मृगौला प्रत्यारोपण सम्भव छ भनी प्रमाणित गरिदिएपछि सन् १९३३ मा तत्कालीन सोभियत संघका सर्जन युरी भरोनियले पहिलो मृगौला प्रत्यारोपण गरेपनि सफलता पाउन त्यसको २१ वर्षपछि सन् १९५४ मा अमेरिकाको बोस्टनस्थित ब्रिगम अस्पतालमा सर्जन जोसेफ मुरेसहितका अन्य दुई सर्जनले सफल प्रत्यारोपण गरेका थिए । त्यसले मानव अंग प्रत्यारोपणमा ठूलो हलचल ल्यायो । त्यसदेखि यता संसारमा दशौँलाख किड्नी फेल्योरका बिरामीले प्रत्यारोपणद्वारा नयाँ जीवन पाइरहेका छन् । नेपालमा पनि लगभग ३५ लाख मानिसहरू किड्नीका बिरामी छन् । अब नेपालमा पनि मृगौला प्रत्यारोपणसम्बन्धी अपरेसन हुनथालेको छ । सरकारले पनि किड्नी फेल्योरका रोगीलाई सहयोग गरिरहेको छ ।
जब कसैको दुवै मृगौला ८५ प्रतिशत बेकाम हुन्छ, त्यो बेला प्रत्यारोपणको आवश्यकता पर्दछ । किनकी औषधीले प्रभावकारी काम गर्न सक्दैन । स्वास्थ्य अवस्था खराब हुँदै जाँदा हप्तामा तीन पटकसम्म डायलाइसिसको आवश्यकता पर्न थाल्छ । लामो अवधिसम्म डायलाइसिस गर्नुभन्दा किड्नी प्रत्यारोपण गर्नु उचित हुन्छ । किड्नी प्रत्यारोपणका जटिलताहरू नयाँनयाँ प्रविधि र उपकरणले गर्दा वर्षेनी क्रमशः हट्दैगएर सरल र सहज हुँदै गएको छ । प्रत्यारोपणमा सफल भएकी महिलाले बच्चा जन्माउन पनि सक्छिन् भने पुरुषलाई यौन क्षमतामा कुनै कमी आउँदैन । किड्नी प्रत्यारोपणका लागि किड्नी दाता र पाउनेको रक्तसमुह (ब्लड ग्रुप) मिल्ने हुनुपर्छ । वैज्ञानिकहरूले कृत्रिम मृगौला पनि बनाएका छन्, जसको सहज उपलब्धता र प्रत्यारोपणका लागि अझै एकआध दशक त पर्खनै पर्ला ।
प्रत्यारोपण गरिएको किड्नी शरीरले सहज रुपमा स्वीकार्ने ग्यारेन्टी शतप्रतिशत हुँदैन । यस्तो बेलामा खतरा उत्पन्न हुनसक्छ । किड्नी प्रत्यारोपण गरिएपछि औषधी सेवन अत्यन्तै नियमित तरिकाले गर्नुपर्छ । यसका साथै दुवै जनाको सेता रक्तकणमा हुने तत्व ‘एच्एल्ए’ मा समानता भएको देखिनुपर्छ । यो ‘एच्एल्ए’ मिलाउने कार्य टिस्यु टाइपिङ् भनिने जाँचबाट हुन्छ । जीवित किड्नीदाताको पूरै स्वास्थ्यजाँच गरिन्छ, ताकि निजको किड्नी स्वस्थ र प्रत्यारोपणको योग्य छ वा छैन भन्ने यकिन होस् । मधुमेह, उच्चरक्तचाप, क्यान्सर, एच्आईभी÷एड्स् लागेका बिमारीहरू किडनी दिन योग्य हुँदैनन् ।
सामान्यतः २० देखि ६० वर्ष उमेरसम्मको मानिसले मृगौला दान दिन सक्छन् । महिलाको किड्नी पुरुषलाई वा पुरुषको महिलालाई दिन सकिन्छ, तर रगत समुह मिल्नु अनिवार्य छ । मृतक किड्नी दाताको तुलनामा जिवित दाताको किड्नी ज्यादा स्वस्थकर भएको डाक्टरी अनुभव छ । जीवित किड्नी दाताको मृगौला प्रत्यारोपण गर्नेबित्तिकै आफ्नो काम गर्न थाल्छ भने मृतक दाताबाट लिएको मृगौलाले काम गर्न केही दिन लाग्नसक्छ । त्यो अवधिमा बिमारीले प्रत्यारोपणको बावजूद डाइलिसिस गर्नुपर्ने हुनसक्छ ।
मृतक भन्नाले ‘ब्रेन डेथ’ भएको बिमारीको किड्नी मात्र प्रत्यारोपणका लागि योग्य हुन्छ । मस्तिष्कमा क्यान्सरका मांशपेशी भएर बिमारी अचेत अवस्थामा भेन्टिलेटरमा राखिएको र बाँच्ने सम्भावना लगभग समाप्त भएको, कुनै दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेको र उपचारबाट ठीक हुने सम्भावना नरहेको, ब्रेनह्यामरेज भएको मानिसको किड्नीले प्रत्यारोपणमा पनि काम गर्न सक्छ । तर हृदयगति बन्द हुनासाथ मृत्यु भएका मानिसको मृगौलामा रगत पुग्न बन्द भएर मृगौलाले काम गर्न छोड्छ । त्यसैले हृदयगति बन्द भएकाको होइन, ‘ब्रेन डेथ’ भएका मानिसको मृगौलाले काम गर्न सक्छ ।
किड्नी प्रत्यारोपण ३ वा ४ घन्टाको अवधिमा सम्पन्न गरिन्छ । तर प्रत्यारोपण गरेको ६ महिनासम्म शरीरले नयाँ किड्नी स्वीकार नगरेको प्रतिक्रिया देखाउन सक्छ, जसलाई हामी चिकित्सकहरू ‘किड्नी रिजेक्सन’ भन्छौँ । शरीरमा प्रतिरोधी क्षमता हुनाले नौलो आगन्तुक तत्त्व वा वस्तुलाई अस्विकृत गरेर परास्त गर्ने प्रतिरोधी क्षमताले नयाँ किड्नीलाई पनि अस्वीकार गर्ने हुँदा ‘रिजेक्शन’ को अवस्था आउने भय निकै हुन्छ । यस अवधिमा इन्फेक्सन हुने सम्भावना पनि धेरै हुनाले बिमारीले धेरै प्रकारका सावधानी अपनाउनु पर्छ । नाक र मुख छोप्ने मास्क लगाएर हिँड्नुपर्छ ।
एन्टीबायोटिक औषधीहरू– सेफ्टम, सेप्ट्रानलगायत अन्य खालका औषधीमा स्टेराईड, साइक्लोस्पोरिन, एजोरन, ट्रामाज्याक आदि करिब १ दर्जन औषधीहरू खानुपर्ने हुन्छ । यो बेलामा (सेलेक्टिभ इम्युनो सप्रेसनका लागि) बिमारीले विशेष प्रकारको औषधी खानुपर्छ, जसलाई ‘इम्युनोसप्रसेन्ट’ भनिन्छ । यो औषधी आजीवन खानुपर्ने हुन्छ । साथै हाई ब्लड प्रेसर, क्याल्सियम आदिका औषधी लिनुपर्छ । किड्नी प्रत्यारोपण गरेको मानिसले मासिक २०÷२२ हजार मूल्यका औषधी खाइरहनु पर्ने हुन्छ ।
प्रत्यारोपणपछि अनुशासित जीवनशैली, जसमा शरीरको खासगरी प्रत्यारोपित किड्नीको कार्यावस्थाबारे नियमित जाँच गरिरहने, ठीकठीक समयमा खाना खाने, हल्का र सन्तुलित खाना खाने, पानी पर्याप्त मात्रामा खाने । कतै हिँड्दा पानी बोकेरै हिँड्ने । हल्का रुपका शारीरिक व्यायाम गर्ने । रक्सी, सूर्ती जस्ता स्वास्थ्यघाती अमल नलिने । बाहिर बनाइएका खानेकुरा नखाने । शरीरमा कुनै चोटपटक लागेको छ भने आफ्नै अनुमान र उपेक्षाको व्यवहार नगर्ने, चोटपटकलाई तुरुन्त सफा गरिहाल्नु पर्छ ।
मृगौला प्रत्यारोपण गर्ने अवस्थामा पुगेको बिरामीलाई आत्तिन, निरासा र उदासिनता आउन दिनुहुँदैन । यस्ता समस्या भएका मानिसहरू निको भएर असाधारण काम गरिरहेका छन् भन्ने उदाहरण लिएर उच्च मनोबल राख्नुपर्छ । बाह्य उपचार प्रत्यारोपण, औषधी, खानपान र अनुशासित जीवनशैली हो भने आन्तरिक उपचारको स्रोत त उच्च मनोबल, आत्मविश्वास र सकारात्मक सोचाइ नै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया