नेपाली कांग्रेस दल मिलेको तर दिल नमिलेको पार्टी हो । यसलाई दिल मिलाउने अभियान र नेता चाहिएको छ । दिल मिलेपछि शक्ति संचय स्वतः हुनथाल्दछ । कांग्रेसलाई भावनात्मक एकता गराउने पर्व भनेको महाधिवेशन नै हो । महाधिवेशन भनेको विचारको उत्सव र तर्कको द्वन्द्वद्वारा नयाँ नेतृत्वको उदय गराउने सुखद पर्व हो । तर चौधौँ महाधिवेशन गर्नुपर्ने अवस्थामा पुगेको नेपाली कांग्रेसको भावी लक्ष र गन्तब्य योजना के छ, त्यसबारे ‘शीर्ष नेता’ भनिएका सभापति शेरबहादुर र बरिष्ठ नेता रामचन्द्रलाई नै थाहा छैन भने द्वयम दर्जाका ‘प्रभावशाली नेता’ र गाउँका कार्यकर्ताहरूलाई के थाहा होस् । जेठा मामाको भाङ्ग्राको धोती कान्छा मामाको झन् कुन गति !
कांग्रेस बाटो बिराएका मानिसको भीडजस्तो मात्र लाग्दैछ । बाटो बिराएर हिँड्नमा अगुवाई गर्ने स्वयम्ं सभापति देउवा नै देखिन्छन् । उनी यतिबेला आएर पार्टीका केन्द्रीय विभाग गठन गर्ने कसरतमा कम्मर कसिरहेका छन् । तर यो बेला भनेको तेह्रौँ महाधिवेशन सकिएको २ महिनाभित्र पार्टीलाई पूर्णता दिएर गठन भएका विभाग र भातृसंस्थाहरूको कार्यसम्पादनको प्रतिवेदन तयार भईसक्नुपर्ने चरण हो । तर सभापति देउवाले चौधौँ महाधिवेशनमा पुनः सभापति हुनका लागि विभाग गठनलाई हत्कण्डा बनाएर सभापतिको कुर्सी सुनिश्चित गर्ने नियतमात्र हो ।
‘शीर्ष नेता’ वा ‘प्रभावशाली नेता’ हरू आफ्नो अभिमान बढाउने पार्टीको स्वाभिमान गिराउने खालका मात्र भए । फागुनमा हुनुपर्ने तर कम्तिमा एक वर्ष तन्काउने काम भईरहेको आगामी १४औँ महाधिवेशनको छाँटकाँट हेर्दा यो महाधिवेशन केवल नेता छान्न मात्र केन्द्रित हुने तर नीतिगत छलफल गर्न नचाहने देखिँदैछ । अहिलेका ‘शिर्ष नेताहरू’ बाट वैचारिक बहस होला र नीतिगत अठोट बन्ला भन्ने आसा गर्नु एक्काइसौँ शताब्दीको सबभन्दा ठूलो मूर्खता हुन्छ । आज सबै ‘वाद’ ध्वस्त भएका छन् । कांग्रेसले पनि आफ्ना वादलाई पूर्वस्थितिमा बहाल गर्नुछ । सबैभन्दा मूल मान्यता कांग्रेसको आर्थिक वृद्धिबारे दर्शनको केन्द्रविन्दु आमजनता भएमात्र यस पार्टीले नयाँ जीवन र उर्जा पाउने छ ।
सत्ता–प्रेम स्वार्थको प्रेम हो, स्वतन्त्रता–प्रेम सबै प्रतिको प्रेम हो । सत्ताप्रेम र स्वतन्त्रताप्रेमको द्वन्द्वमा काङ्ग्रेसले आपूmलाई कहाँ उभ्याउने हो, त्यो निश्चय गर्नुपर्छ । कुनै पनि जिम्मेवार नेता वा कार्यकर्ताले अब परिणामप्रति लापरवाही भएर कदम चाल्न सक्दैन । जनतालाई पिरोल्ने परिणामको राजनीतिको श्रोत जिम्मेवार र उत्तरदायी नेता वा कार्यकर्ताले बन्नुहुँदैन । कांग्रेसको साहस र हिम्मतको परिक्षा तब हुन्छ, जब यो पार्टी प्रतिपक्षमा रहेको छ । कांग्रेसको संयम र सृजनात्मकताको परिक्षा तब हुन्छ, जब उ सत्तामा हुन्छ । पार्टी सभापति वा संसदीय दलको नेतामा को आयो भन्ने होइन, कसरी आयो भन्ने कुराको महत्व हुन्छ । लोकतान्त्रिक प्रक्रियाबाट आएको जो होस् सबैलाई मान्य हुन्छ । कांग्रेसमा पनि भाग्यमानी र संघर्षशील दुई किसिमका नेता छन् । विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेताले अबको कांग्रेसलाई हाँक्न सक्दैन ।
कांग्रेसमा परिवारवाद
पार्टीलाई नै परिवार मान्ने त्यस्तो परिवारवादको पक्षपाती धेरै छन्, तर पछाडि परेका छन्, किनकि उनीहरू परिवारलाई पार्टी मान्ने प्रवृत्तिको त्यतिनै विरोधी हुन् । ले नयाँ जीवन त्यतिबेला पाउने छ, जब केन्द्रीय सभापति, पदाधिकारी र सदस्य गरी ८५ प्रतिशत पदहरूमा कार्यकर्ताले निर्वाचनद्वारा नियुक्त गरेको नेतृत्व चयन हुने छ भनेर यो पद्धतिको विकास पनि गरिएको हो । तर कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै !
युवा पुस्ता सफल वा असफल ? भन्ने प्रश्न पनि यहाँ छ । युवा पुस्ता आम रुपमा निराशा र पलायनबाट प्रभावित भएको देखिन्छन् । युवाहरूमै यस्तो मनस्थिति देखियो भने युवा वर्गलाई सफलताको मौका दिने कता हो कता, नियमपूर्वक र चित्तबुझ्दो किसिमले असफल हुने हक पनि प्राप्त हुनेछैन । अधिकांश युवा भनिएकाहरू अध्ययन, लेखन् र विचार मन्थनका अभ्यासबाट विमुख छन् । तिनीहरू ठेक्कापट्टा, लाभको पद, विदेश भ्रमण आदि अनेक काम पटाउने र लाभ लिने राजधानीमा बसेर जिल्लाको राजनीतिको गुटी हाँक्ने सत्ताका दलाल र सुविधाभोगी समुदाय भएका छन् ।
नेकपा नेतृत्वको सरकार
नेकपा एकीकृत रुपमा अहिले सत्ताको नेतृत्व गरिरहेको छ । यो पार्टीको भनाई र गराईमा सामन्जस्य नहुनु नै यसको पहिचान भइसक्यो । उ अहिले यसैलाई ‘पार्टी एकता’ र ‘दुईतिहाईको सरकार’ भनिरहेको छ । हिजोसम्म ‘आतंकवादी’ वा ‘उग्रवादी’ भनेर सत्तो सराप गरेका माओवादीसँग एमालले ०७४ मा एकता गर्ने बाटो लिएपछि राजनीतिमा जे पनि वैध र मान्य हुन्छ, नैतिकता बाधक हुन्छ भन्ने मान्यताले प्रश्रय पाएको छ । नेपालको एक नम्बरी भ्रष्टाचारी भनेर टुँडिखेलमा कुर्लिने प्रदीप नेपाल तिनै बामदेव उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका बेला उनको राजनीतिक सल्लाहकार हुन लाज शरम लागेन, जुन वामदेव अहिले पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुख हुने पक्कापक्कीमा छन् । सरकार यसैगरी चलाईदैछ ।
यो नैतिक पतनको नमूना हो र नेपाली राजनीतिमा एउटा पाटोको जगजाहेर चरित्र हो ।
सानो चित्त लिएर विशाल समस्याको टुङ्गो लगाउन सकिन्न ।
पूर्वमाओवादीको नेकपा अवतार
पूर्वमाओवादी भित्र पनि उमे्रका र टाँसिएका अहिले दुई नश्लका माओवादी छन् । ‘युद्धबाट आएका’ र ‘युद्धपछि आएका’ भनी त्यहाँभित्र गम्भीर पंक्तिभेद सुनिन्छ, भलै अहिले अलिक मत्थर भएको होस् । एकातिर सुविधाभोगी र अर्कातिर लडाकू माओवादी छन् । सत्ताको तर मार्ने हैसियतमा एकथरि माओवादी जमेका छन् भने जंगलको हिंसालाई निरन्तरता दिने पनि माओवादी नै भएका छन् । झिँगाहरू सख्खरको डल्लोसँगै बसाइ सर्छन् भने झैँ समाजका सुविधाभोगीहरू, खासगरी हिजोका राजावादीहरूलाई सत्तातिर बसाइ सर्न उक्साउने कार्य नेकपाको वर्तमान राजनीतिबाट भईरहेको छ ।
लडाकूलाई टुङ्गो लगाउने वित्तिकै सुविधाभोगी माओवादीका दिन पनि सकिन थालेको थियो, अहिले फेरि सुविधाभोग बलवान भएको छ ।
नेकपाको अवतार लिए पनि माओवादी हिंसालाई उद्योग र जिविकोपार्जनको माध्यम बनाउने पार्टी हो । अहिले त्यो पार्टी १० वर्षे हिंसाको आम्दानी खाइरहेको छ । माओवादीका एजेण्डाले नेपाललाई प्रयोगशाला मात्र बनाइरहेको छ ।
ऊ आफ्ना एजेण्डा तेस्र्याएर आफ्नो भूमिकाको खोजी गरिरहेको छ । मरेर गएका माओवादीको कुरै भएन, जिउँदो माओवादीलाई अब जीवन सुखपूर्वक चलाउने फर्माईस बढेर आएको छ । त्यसैले माओवादीले खोजेको वर्गसंघर्षको रुप अबका दिनमा माओवादीभित्रै देखिन थाल्यो भने त्यो आश्चर्यजनक हुनेछैन ।
सिद्धान्त, विचार, नैतिकता, मूल्य र मान्यताको राजनीति खोज्ने सदाचारी र इमानदार मनुवाभन्दा मूर्ख र लाटो अहिलेको राजनीतिमा को होला ? यस्तै प्रवृत्तिभित्र राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले मौलाउने अवसर पाईरहेको छ ।
बेईमान ठेकेदार, किसान र उपभोक्तालाई एकसाथ ठग्ने बिचौलिया वा दलाल, सून तस्कर, भूमाफिया, कानूनले डामेका अपराधी र सत्ताका भ्रष्टहरूका लागि वर्तमान राजनीति अभुतपूर्व अनुकूल र स्वर्णयुग भईरहेको छ ।
लेखकका यसअघि प्रकाशित आलेखहरु तलको लिंकमा क्लिक गरी पढ्नुहोस् ।
2. गोर्खाली नभए कसरी चल्छ भारतीय सेना ? भारतीय पत्रकारले जे देखे
3. वायु प्रदुषणको असर : सखाप हुँदैछ हाम्रो पर्यावरण, एक सनसनीपूर्ण खुलासा !
4. के कांग्रेसले दिशा गुमाएकै हो ?
5. चर्चित नेपालीहरुको रोचक साइनो : को कसको के नाता पर्छ ?
6. निर्जीव हुँदै संविधानका काला अक्षर, कसले भर्ने प्राण ?
7. राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग किसुनजीका ऐतिहासिक संवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया