हिन्दु, बौद्ध, इस्लाम वा इसाई जुनसुकै ठूला धर्मको उत्पत्ति एशियामै भएको हो र एशियाले सिंगो विश्वलाई धर्मद्वारा प्रभाव पारेको हो । आज विश्वभरि यिनै ४ धर्मको प्रमुख बर्चश्व छ । तर एशियामै धर्मको विषयमा गलत प्रचारवाजी, गरिबी र अशिक्षाबाट नाजायज फाइदा लिँदै धर्म परिवर्तन गर्न उक्साउने र विद्वेष तथा वैमनस्य फैलाउने क्रियाकलाप पनि भइरहेको छ । सच्चा इसाई वा कुनै पनि धर्मावलम्बीले यस्तो प्रवृत्तिको निन्दा गर्छन् ।
धर्मनिरपेक्षतावादी डब्लू डी मिलरले भने झैँ, “….कुनै धर्मावलम्बीहरूले पनि धर्म मान्नु भनेको गुटबन्दी गरेर अर्को धर्ममाथि धावा बोल्नु होइन भन्ने बुझ्नुपर्छ । कहिँ कतै पूर्वाग्रही भएर धर्म बदल्ने परम्पराको विकास भएको पनि देखिन्छ । धर्म बदल्ने चिज पनि होइन,…….धर्म बदल्नु भनेको एउटा अँध्यारो झ्यालखानाबाट अर्को त्यस्तै झ्यालखानामा प्रवेश गर्नु हो । ….अमेरिका युरोपमा क्रिश्चियन धर्म छ र पनि विकास भएको छ भन्ने सवाल उठ्नसक्छ । यस्ता सवाल उठाउनेले त्यहाँको इतिहास पढ््न सक्नुपर्छ ।….(युरोपमा) कैयौँ वैज्ञानिक, लेखकलाई देशनिकाला, आजीवन काराबास र मृत्युदण्डका सजायसम्म दिइए । पूनर्जागरणपछि मात्र धर्मको नाजायज शासन चिर्दै युरोपमा विकास सुरु भएको हो ।….पूर्वाग्रही ढङ्गले धर्मनिरपेक्षता भनी हिँड्दैमा आधुनिक होइँदैन, माओवादीका कतिपय कार्यकर्तामा यस्तो पाइन्छ ।”
महात्मा गान्धीले ‘इश्वरको कुनै धर्म हुँदैन’ भने झैँ, हामी एशियालीहरूले पैदा गरेका ठूला धर्महरू राजनीति गर्न, साम्प्रदायिक जहर पैmलाउन वा भेदभाव गर्न वा एकले अर्कोलाई गालीगलौज गर्न र अहंकार प्रदर्शन गर्न प्रादुर्भाव गरेका होइन । वेद, गीता, त्रिपिटक, धम्मपद, कुरान वा बाइबल कहीँ पनि वैमनस्य र भीडन्त फैलाउन सिकाइएको छैन । हामी आ–आफ्ना धर्मको बारेमा गर्व गर्नसक्छौँ, तर अरुका धर्मको सम्मान गर्न र उनीहरूको धार्मिक आस्थालाई प्रलोभनमा पारेर वा आकांक्षा चर्काइदिएर आपूmतिर तान्ने घृणित चालबाजी उत्तिकै निन्दनीय पनि छन् । महात्मा गान्धीले एकपटक कुनै ठूला पादरीलाई भन्नुभएको थियो, ‘मलाई तिम्रा क्राइस्ट मन पर्छ, तर तिम्रा क्रिश्चियन मलाई मन पर्दैन, किनभने तिम्रा क्रिश्चियन तिम्रा क्राइस्टभन्दा एकदमै फरक छन् ।’ यसको सही अर्थ र मर्म बुझ्ने जिम्मेवारी हामीमा हुनुपर्छ ।
‘धर्मनिरपेक्षता’बारे जनस्तरमा शिक्षा र चेतना प्रशस्त नगरी अनायास र रहस्यमय तरिकाले प्रतिनिधिसभा घोषणा (२०६३) द्वारा नेपाललाई धर्मनिरपेक्ष राज्यको घोषणा गरेपछि ८१ प्रतिशत हिन्दुहरूको मनमा भयको चिसो पस्यो । उनीहरूको बुझाइमा धर्मनिरपेक्षताको अर्थ अन्य धर्म, खासगरी इसाईहरूको विस्तार र हिन्दुहरूको संकुचन हो भन्ने सन्देश गयो । आज हिन्दुहरूमा आत्मनास र प्रतिरक्षात्मक मानसिकताको अवस्था छ । एकातिर निहित राजनीतिक स्वार्थका लागि हिन्दुराज्यको माग र हुँकार चलिरहेको छ, जसले जनतामा आत्मबल भने दिन सकेको छैन । नेपाललाई कुनै संविधान विशेषले हिन्दु राज्य बनाउनुभन्दा सयौँ वर्षअघि विदेशी लेखकहरूले नै नेपाललाई ‘हिन्दु पहाडी अधिराज्य’ का रुपमा पुस्तकहरूद्वारा प्रचार गरेका हुन्् । यहाँका धार्मिक संरचनाहरूका उत्कृष्ट पारखी र प्रशंसक पनि उनीहरू नै हुन् । हिन्दु दर्शनका पारखी र प्रशंसक देशभित्र भन्दा देशबाहिरै सशक्त र प्रभावशाली रुपमा छन् ।
हो, ८१ प्रतिशत नेपालीले अपनाएको हिन्दु धर्ममा अन्धविश्वास, क्षुद्र धन्धा, पुरोहितवाद, आडम्बर र तडकभडकले भरमार प्रश्रय पाएको छ । तर यी विकृति मात्र यस धर्ममा छैनन् । विज्ञान, दर्शन, नैतिक शिक्षा, आचरण प्रबद्र्धन, पञ्चतत्व, ब्रम्हाण्ड र प्रकृतिको महत्वबोध आदिजस्ता जीवन र जगतसम्बन्धी ज्ञानको अपरिहार्य भण्डार यस धर्ममा छ । नेपालको हिन्दुत्व धेरै अर्थले राष्ट्रिय एकता र सामाजिक सद्भावको आधारको रुपमा पनि रहँदै आएको छ ।
सन् १९९१ मा जेलबाट छुटेपछि दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाले एउटा भाषणमा भनेका थिए, “दिपावली चाडले मलाई रोबिन द्विप (बन्दी जीवन बिताएको स्थान) का दिनहरूको सम्झनातिर लैजान्छ …..अँगालिएका सम्पूर्ण दर्शनहरू जसमा हिन्दुत्व आधारित छ र जसले मानवताका सबै पक्षमा आफ्ना हात राखेको छ, यस्तो उदात्त दर्शनले दिएको चाड (दिपावली) मा सामेल हुँदा मलाई ५ हजार वर्षभन्दा पुरानो पृष्ठभूमीतिर फर्केको अनुभूतिले द्रवीभूत बनाउँछ । म के सौभाग्य र गर्वको अनुभव गर्छु भने हाम्रो मुलुक संस्कृति र परम्पराका धेरैधेरै विविधता र वैभवशाली बरदानले समृद्ध छ । दिपावली चाड र यसको इतिहास र महत्वका रुपमा रहेका तथ्यले हाम्रा लागि अनगिन्ती शिक्षा बोकेका छन्, म यहाँ केहीमात्र उल्लेख गर्नसक्छु । हिन्दु धर्मशास्त्रकै समान लाइनबाट हामी अन्धकारका शक्तिबिरूद्धको लडाईँमा लागिरहेका छौँ ।”
वर्तमान परिप्रेक्षमा हिन्दुहरूले संकुचित, त्रसित र असुरक्षित अनुभव गनुपर्ने कुनै कारण छैन । परधर्मप्रति आक्रामक हुने वा निन्दा गर्ने काम पनि बिल्कुल गर्नु हुँदैन । नेपालका इस्लाम धर्मावलम्बीहरू नै खुलेर संविधानमा हिन्दु राज्य उल्लेख गर्न माग गरिरहेका छन् । वास्तवमा यो मागको विषय होइन, बीचमा खोसिएको प्रावधान पुनःस्थापित गर्ने आवाज मात्र हो ।
नर्वे, डेनमार्क, स्वेडेन, स्पेनजस्ता युरोपेली मुलुकका संविधानमा क्रिश्चियन धर्मलाई राज्यको धर्मका रुपमा उल्लेख हुनुलाई, वा ‘बेलायत क्रिश्चियन मुलुक हो’ भन्ने त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरुनको भनाइ वा बेलायतकी महारानी एङ्लिकन चर्चकी प्रमुख रहँदैआएको तथ्यप्रति नेपालीहरूको कुनै टिप्पणी वा आपत्ती छैन । धर्मनिरपेक्ष अमेरिकाको डलरमा ‘इन गड वी ट्रस्ट’ लेखिएको छ । ईश्वरमाथि आस्था राखेको घोषणा गर्ने, त्यो पनि मुलुकको राष्ट्रिय मुद्रामा, कसरी धर्मनिरपेक्ष भन्न मिल्छ ?
अमेरिकी राष्ट्रपति बाईबल छोएर सपथग्रहण ग्रहण गर्छन् । बाईबललाई साक्षी राखेर त्यसैको किरिया खाने राष्ट्रपतिको मुलुक कसरी धर्मनिरपेक्ष हुनसक्छ ?
त्यसैले धर्म, जाति, संस्कृतिजस्ता संवेदनशील विषयमा संविधानमा के उल्लेख गर्नुपर्छ, त्यो नेपाली जनता वा यहाँको जनमत वा जननिर्वाचित प्रतिनिधिले नै निर्णय गर्ने कुरा हो । सबै धर्मावलम्बीको शान्तिपूर्ण अस्तित्व, सामाजिक सद्भाव र अन्तरधर्म भाईचारा यसको मूख्य ध्येयचाहिँ हुनुपर्छ । संविधानमा हामीले खोज्ने अक्षर र भावना यतिमात्र हो । ([email protected] )
लेखकबाट थप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया