एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत न्यूजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियाले फराकिलो जित हात पारेको छ ।
मेलबर्नमा आइतबार अष्ट्रेलियाले न्यूजिल्याण्डलाई २ सय ७४ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाले दिएको ४ सय ८८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको न्यूजिल्याण्ड तेस्रो दिन २ सय ४० रनमा अलआउट भयो ।
न्यूजिल्याण्डको लागि टम ब्लुन्डेलले १ सय २१ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हेनरी निकोलसले ३३ तथा मिचेल स्टाननरले २७ रन बनाए । अष्ट्रेलियाका नाथन लायनले ४ तथा जेम्स प्याटीनसनले ३ विकेट लिए । पहिलो इनिङ्समा न्यूजिल्याण्डले अलआउट हुँदै १ सय ४८ रन बनाएको थियो ।
यता, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ६७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि टर्भिस हेडले १ सय १४ रनको शतकीय इनिङ्स खेलेका थिए ।
यस्तै दोस्रो इनिङ्समा १ सय ६८ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । जितसँगै अष्ट्रेलियाले ४० अंक पाएको छ । अष्ट्रेलियाले सिरिजमा समेत कब्जा जमाएको छ । पहिलो टेष्टमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई २ सय ९६ रनले हराएको थियो ।
दुई टोलीबीचको तेस्रो टेष्ट शुक्रबार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया