काठमाडौां । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले आइतबार सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको घट्ना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन् सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्ध लाठी चार्ज भयो ।
हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने भनेर समय लिएरनै त्यसतर्फ गएका थियौं ।’
गजुरेलले हनुमानस्थान् परिसरबाटै आफूहरुमाथि धरपकड भएको सुनाए । उनले भने,‘त्यहाँ खटिएका प्रहरीहरु डिएसपीको कमाण्डमा थिए । हामीले शान्तिपूर्ण रुपमा आफ्नो र्याली निकाल्दा किन यसो गरिएको भनेर डिएसपीलाई सोध्दा उहाँले माथिको आदेश भन्नुभयो । हामीले पनि उहाँलाई भन्यौं, माथिको आदेश दिने मान्छे को रैछ ? हामी पनि जानौं न भनेर सोध्दा गिरफ्तार गरियो । अन्धधुन्ध लाठीचार्ज गर्दा ८ जनाभन्दा बढि घाईते भए ।’
उनकाअनुसार लाठी चार्जमा घाईते हुनेहरुमा नेताहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, सुनिता बुढाथोकी, शारदा महतलगायत थिए भने पक्राउ पर्नेहरुमा सिपी गजुरेल, परि थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, दिपक बहादुर शाही, फुरनाम्गेल, वसन्त बोगटी, खगेन्द्र छन्त्याल, पदम भण्डारी, ढोग प्रसाद अधिकारी, मीन गिरी, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की, अमित योञ्जनलगायत थिए ।
उनले हिजो घटेको घट्ना प्रायोजित भएको दाबी गरे । नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको पनि उनले सुनाए । गजुरेलले भने,‘भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमी राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्याँतिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरी यो विषयलाई उठायौं । सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला ? हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’
आइतबारको घट्नालाई लिएर सामाजिक सञ्जाल तथा मूलधारका मिडियामा राम्रो कभरेज भएको पनि उनले सुनाए । गजुरेलले भने,‘हिजोको कदमले मुलुकमा ध्रुवीकरण पैदा गरेको छ । यो गम्भिर खतराको कुरा हो । देशको सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ । अनि देशभक्तहरुमाथि नै किन दमन गरियो ? हामीमाथि नै लाठी चार्ज भयो ।’
राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको ब्यानर च्यातिएको उनको गुनासो छ । उनले भने,‘राष्ट्रिय स्वाधिनताको पक्षमा बोल्दा हाम्रा ब्यानर च्यातिए । हामीले त सरकारसँग सहकार्य गरेर जान चाहेका थियौं । तर, हामीले नचाहँदा नचाहँदै देशमा ध्रुवीकरण हुन लाग्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया