ज्योती विकास बैंकको एकै दिन ३ नयाँ शाखा उद्घाटन

काठमाडौं । ज्योती विकास बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा एकैदिन बिभिन्न ठाँउहरुमा ३ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले पौष १४ गते बिभिन्न ठाँउहरुमा शाखा उद्घाटन गरि सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला तथा ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखा उद्घाटन गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेलस्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले बैंकिङ क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको नियम अनुशासनमा रहनुपर्ने व्यवस्थाको बीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिएका छन् । साथै ज्योती विकासले पनि सोही अनुसारको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

त्यस्तै बैंकको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाइला स्थित शाखाको उद्घाटन बैंकका पूर्व अध्यक्ष तथा संस्थापक शेयरधनी धुव्र कुमार उप्रेतीले गरेका हुन् । भने बैंकको काठमाडौं महानगरपालिका वडा नं ७ रातोपुल शाखाको उद्घाटन संचालक समितीका सदस्य जगदीश्र्वर प्रसाद अधिकारीले गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले बैंकले आवस्यक न्यूनतम भन्दा बढी चुक्तापूँजीसहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्थाको रुपमा अघि बढिरहेको समेत बताएका छन् । त्यसै प्रसङ्गलाई जोडदै खडकाले अन्य वित्तीय संस्थासँग विलय नभई आफै माथि उठेर अघि बढने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहक महानुभावहरु तथा स्थानिय व्यवसायीहरुको सुमेत उपस्थिती रहेको बैंकले जनाएको छ ।

बैंकले देशभर १०२ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथै चालु आर्थिक वर्षमा थप २५ स्थानबाट एटिएममार्फत सेवा प्रदान गर्ने तयारी रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३१ अर्बभन्दा बढी निक्षेप संकलन गरि २० हजार भन्दा बढी ऋणीलाई २६ अर्बभन्दा बढी लगानी गरिएको पनि बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?