महाराष्ट्र राज्यका मन्त्रीहरु मान्दैनन् ६०२ नम्बर कोठामा बस्न, यस्तो छ कारण

मुम्बई । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले हालै मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई विभागीय जिम्मेवारीका साथै कार्यकक्ष उपलब्ध गराउने तयारी भइरहेको छ ।

महाराष्ट्रय राज्य सरकारको प्रशासकीय भवन ‘मन्त्रालय’ भित्र विभिन्न मन्त्रीहरुको कार्यकक्ष तोक्ने प्रक्रिया सुरु भएको छ । तर उक्त भवनको छैठौँ तलामा रहेको कोठा नम्बर ६०२ मा बस्न भने कोही राजी देखिएका छैनन् ।

उक्त कोठामा बस्ने कुनै पनि मन्त्रीले पूरा कार्यकाल बिताउन नपाएको भन्दै नयाँ मन्त्रीहरु उक्त कोठा लिनबाट टाढिएका हुन् ।

तीन हजार वर्गफिट क्षेत्रफल रहेको उक्त कोठा राज्य सरकारले तत्काल कसैलाई पनि छुट्याएको छैन । उक्त कोठामा एउटा हल, दुई वटा क्याबिन, कर्मचारी कक्ष छ । उक्त कोठालाई सुरुमा महाराष्ट्रको शक्ति केन्द्र नै मानिन्थ्यो ।

सो कोठामा कुनै बेला मुख्यमन्त्री, वरिष्ठ मन्त्री र मुख्य सचिवको कार्यकक्ष थियो । तर अहिले उक्त कोठालाई आफ्नो कार्यालय बनाउन कुनै पनि मन्त्री तयार देखिएका छैनन् ।

नवभारत टाइम्स दैनिक अखबारले जनाएअनुसार सन् २०१४ मा भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बनेपछि उक्त कोठा भाजपाकै प्रभावशाली नेता एवं मन्त्री एकनाथ खडसेलाई दिइएको थियो । उनले प्रदेश सरकारको कृषि, राजस्व र अल्पसंख्यक कल्याण विभागको जिम्मेवारी पाएका थिए ।

जिम्मेवारी सम्हालेको दुई वर्षमै उनी एउटा विवादमा तानिए । भ्रष्टाचारको विवादमा तानिएपछि उनले राजीनामा दिए ।

खडसेले राजीनामा दिएपछि केही समय उक्त कोठा खाली रह्यो । पछि उक्त कोठा नवनियुक्त कृषि मन्त्री पान्डुरङ्ग फुन्डकरलाई दिइयो । जिम्मेवारी सम्हालेको दुई वर्षमै उनको हृदयाघातका कारण निधन भयो ।

सन् २०१९ मा भाजपाका नेता अनिल बोन्डेले कृषि विभागको जिम्मेवारी सम्हाले । तर हालै भएको विधानसभा निर्वाचनमा उनी पराजित भए । यतिमात्र होइन, भारतीय जनता पार्टी नै विपक्षी भूमिकामा सीमित रह्यो ।

स्रोतका अनुसार उपमुख्यमन्त्री अजित पवारलाई उक्त कोठा दिन लागिएको भए पनि पवारले लिन अस्वीकार गरेका छन् । उनले उक्त कोठालाई यसअघि आफ्नो कार्यकक्ष बनाइसकेका थिए । भनिन्छ, अजित पवार पनि सोही कोठामा रहँदा विभिन्न घोटालामा मुछिएका थिए ।

महाराष्ट्र राज्य सरकारमा हाल ४३ मन्त्री छन्, जसका लागि कार्यकक्षको व्यवस्था ‘मन्त्रालय’ भवनमै गरिनेछ । मन्त्रीहरुले आफ्नो रुची अनुसार कार्यकक्ष लिने गरेका छन् । उक्त कोठा लिनका लागि भने कोही तयार नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?